काठमाडौं ।
ऊर्जा मिश्रणको अवधारणालाई अघि बढाउँदै सरकारले सौर्य ऊर्जामा लगानी आकर्षित गर्न थालेपछि पछिल्लो समय यस क्षेत्रप्रति निजी क्षेत्रको चासो तीव्र रूपमा बढेको छ। वर्षायाममा जलविद्युत् उत्पादन बढी र हिउँदमा कम हुने प्रवृत्तिका कारण वैकल्पिक स्रोतका रूपमा सौर्य ऊर्जामा लगानीकर्ता आकर्षित भएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागका अनुसार हालसम्म कुल २,१०४ मेगावाट क्षमताका ९७ सौर्य ऊर्जा आयोजनाले सर्वेक्षण अनुमति प्राप्त गरेका छन्। नीतिगत रुपमा सौर्य ऊर्जाबाट उत्पादित विद्युत्लाई उचित मूल्य दिने सरकारी निर्णयसँगै लगानीकर्ताको रसद पनि बढेको विभागको भनाइ छ।
चालु आर्थिक वर्षमा मात्रै छवटा सौर्य परियोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका छन्। गैरआवासीय नेपालीको लगानी रहने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १०० मेगावाट क्षमताको रोल्पा सौर्य आयोजनासहित १५० मेगावाट क्षमताको अर्घाखाँची सौर्य परियोजनाका लागि अनुमति लिएको छ।
त्यस्तै, सिजी इर्नगो प्रालिले २५ मेगावाट क्षमताको पाल्पा डम्बक सौर्य परियोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ। १० मेगावाट क्षमताका विराट बर्जु, डाँगीहाट र बाडगङ्गा सौर्य परियोजनाले पनि विभागबाट अनुमति पाएका छन्।
विभागका अनुसार हालसम्म १२ सौर्य ऊर्जा आयोजनालाई उत्पादन अनुमति दिइएको छ, जसको कुल क्षमता ८४ मेगावाट बराबर छ। यस्तै, १० मेगावाट क्षमताका पाँच आयोजनाले सर्वेक्षण अनुमति माग्दै आवेदन दिएका छन् भने १५ मेगावाट क्षमताका तीन परियोजनाले विद्युत् उत्पादन अनुमतिका लागि निवेदन दर्ता गराएका छन्।