काठमाडौं
भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोले केही दिनयता देशभर १,२०० भन्दा बढी उडान रद्द गरेपछि भारतीय विमानस्थलहरूमा ठूलो अस्तव्यस्तता सिर्जना भएको छ। ठूलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन्।
कम्पनीले अवरोधको कारण प्राविधिक त्रुटि, प्रतिकूल मौसम, र कर्मचारीहरूको लागि नयाँ नियम लगायतका ‘अप्रत्याशित परिचालन चुनौती’ भएको बताएको छ।
भारतको उड्डयन नियामक निकायले अनुसन्धानको आदेश जारी गरेको छ र सोमबारदेखि अवरोध कम गर्न इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन दिएको छ।
उडान अवरूद्ध भएपछि बिहीबार हजारौँ यात्रु र उनीहरूका आफन्तहरूले सामाजिक सञ्जालमार्फत आफ्नो रिस व्यक्त गर्दै एक्समा आठ घण्टासम्म ढिलाइ हुँदा पनि ‘कुनै कर्मचारी सहयोगका लागि उपस्थित नभएको’ र विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ भएको बताएका छन्।
बुधबारसम्म इन्डिगोले १,२३२ उडान रद्द भएको जनाएको छ, तर ढिलाइ भएका उडानहरूको संख्या खुलाइएको छैन। कम्पनीले आफ्ना ग्राहकहरूलाई वैकल्पिक यात्रा व्यवस्था र फिर्ती उपलब्ध गराइरहेको छ।
इन्डिगोले यस अवरोधमा आंशिक रूपमा नयाँ ‘क्रू रोस्टरिङ’ नियम र अन्य प्राविधिक कारणहरू जिम्मेवार भएको उल्लेख गरेको छ। नयाँ नियम अन्तर्गत चालक र चालक दललाई बढी आराम दिने लक्ष्य राखिएको थियो, जुन गत महिनादेखि लागू भएको छ।
समयनिष्ठतामा आफ्नो प्रतिष्ठा बनाउँदै आएको ‘नो–फ्रिल्स क्यारियर’ इन्डिगोका लागि यो अर्को ठूलो झट्का हो। यसअघि, एयरबसले विश्वभर छ हजार विमानमा तत्काल अपग्रेडको अलर्ट जारी गर्दा इन्डिगोका करिब २०० विमान प्रभावित भएका थिए।
भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्दै गरेको उड्डयन बजार भएकोले, एकै दिनमा करिब पाँच लाख यात्रु हवाई सेवाबाट लाभान्वित हुन्छन्।