काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय नयाँ सम्झौता हुनुपर्ने मागसहित मंसिर २३ गते काठमाडौंमा प्रदर्शन कार्यक्रम गर्ने भएको छ।
राप्रपाले किराँत–बौद्ध–सनातन हिन्दु अधिराज्य स्थापना, संविधान संशोधन र प्रदेश संरचना खारेजीसहितका राजनीतिक एजेन्डा अघि सार्दै आन्दोलनलाई देशव्यापी बनाउने तयारी गरेको जनाएको छ।
आन्दोलन परिचालन समितिका संयोजक ज्ञानेन्द्र शाहीले शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ राजनीतिक सहमति बिना देश निकासमा जान नसक्ने दाबी गर्दै गोलमेच सम्मेलनमार्फत त्रिपक्षीय सम्झौता आवश्यक रहेको बताए।
उनका अनुसार मंसिर २३ को आन्दोलनको औपचारिक आयोजक राप्रपा भए पनि राष्ट्रिय झण्डा बोकेर आम नागरिक सहभागिता जनाउने अपेक्षा गरिएको छ।
शाहीले जेनजी आन्दोलन अधुरो रहेको र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संरचना कारण जेनजीका मागहरू पूरा नहुने निष्कर्ष पार्टीले निकालेको बताए।
उनले भने, “सडकमा युद्ध जिते, सम्झौतामा हारे। प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रिय सभा किन चाहिन्छ भन्ने जेनजीले बुझेनन्। जहाँ चुनाव हारेका हरुवा–चरुवा बसेका छन्, यस्तो व्यवस्थाले जेनजीका माग पूरा गर्छ?”
राप्रपाले आगामी आन्दोलनलाई राजसंस्था, जनमत र राजनीतिक स्थायित्वका पक्षमा मोड्ने दाबी गर्दै थप कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको जनाएको छ।