मुस्ताङ
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत हालसम्म १३ पक्की पुल निर्माण सम्पन्न भएका छन्। तीनवटा पुल भने अन्तिम चरणमा पुगेका छन्।
व्यापारिक दृष्टिले भारत–चीनलाई जोड्ने महत्वपूर्ण मार्गको रूपमा २०७३/७४ सालदेखि सुरु गरिएको यस सडक आयोजनाले गत वर्षसम्म १३ पुल बनाएर आयोजनालाई हस्तान्तरण गरिसकेको छ। निर्माणाधीन तीन पुलको ठेक्का सम्झौता भने तोडिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए। उनका अनुसार म्याग्दीको अन्नपूर्ण–३ को रुप्सेखोला, थासाङ–४ को खहरेखोला तथा वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीस्थित पुलको ठेक्का निर्माण कम्पनीको ढिलासुस्ती तथा प्राकृतिक विपद्का कारणले तोडिएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डमा राहुघाट पुल र घट्टेखोलाको पुल सम्पन्न भइसकेका छन्। मुस्ताङ खण्डमा लेतेखोला, सेतोखोला, छाक्ताङ खोला, मार्फाखोला, स्याङखोला, पान्डाखोला, छुसाङ नरसिंह खोला तथा चराङखोला पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
त्यसैगरी, माथिल्लो मुस्ताङमा लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल पनि निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका छन्। यीमध्ये ६ पुल गत आव २०८१/८२ मा सम्पन्न भएका थिए।
हाल अन्तिम चरणमा रहेका थासाङ–४ कैकुखोला, थासाङ–२ लार्जुङखोला र लोघेकर दामोदरकुण्ड–२ घमीखोला पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी पुगेको इन्जिनियर चापागाईँले बताए। उनका अनुसार तीनै पुलको फाउन्डेसन र स्ल्याप ढलान सकिएको छ भने एप्रोज सडक तथा फिनिसिङका काम बाँकी छन्। यी पुल चालु आवमै हस्तान्तरण गर्ने लक्ष्य छ।
आयोजनाले कोरला सडकमा ६ वटा बेलिब्रिज पनि स्थापन गरेको छ। बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला तथा थासाङ–२ घट्टेखोला र थासाङ–१ टुकुचे–थापाखोलामा बेलिब्रिज जडान गरिएको छ। यससँगै आयोजनाले हालसम्म १९ पुल (पक्की र बेलिब्रिज) निर्माण गरिसकेको छ।
आयोजनाबाहेक पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्मका ८ पक्की पुल अन्य कार्यालयमार्फत निर्माण भएका छन्। तीमध्ये पर्वतका दमुवाखोला, लस्तीखोला, मिलनचोक खोला तथा म्याग्दीको कालीगण्डकी खोला, बेगखोला, तिप्ल्याङ खोला र पोखरे बगर खोलाका पुल निर्माण सम्पन्न भइसकेका छन्।
जोमसोमस्थित कालीगण्डकी खोला पुल भने भारतिय राजदूतावासको आर्थिक सहयोगमा यसअघि नै निर्माण सम्पन्न भएको थियो।