मोरङ ।
लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको निर्मम हत्या प्रकरणमा प्रहरीले मुख्य आरोपी पदम अधिकारीलाई पक्राउ गरेको छ । घरबाट “स्कूलमा खेल्न जान्छु” भन्दै निस्किएकी अंशुको शव फेला परेको एक महिना नबित्दै प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतमा लुकेर बसेका अधिकारीलाई नियन्त्रणमा ल्याएको हो । उनी अन्दाजी ५० वर्षका छन् र अंशुकै छिमेकी हुन् ।
९ दिनमै गाउँ छोडेर भारत पलायन
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सबैभन्दा ठूलो शंका अधिकारीको ‘मुभमेन्ट’मा थियो । कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा अंशुको टाउको र शरीर छुट्टिएको अवस्थामा शव भेटिएको थियो । त्यसको ठीक ९ दिनपछि अधिकारी एक्कासि गाउँबाट बेपत्ता भएका थिए ।
उनी फरार भएलगत्तै प्रहरी टोलीले उनलाई ‘प्राइम सस्पेक्ट’ मानेर थप प्रमाण संकलन थालेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार अधिकारी भारततिर भागिसकेका थिए । “शव भेटिएको केही दिनमै उनी भारत गएका थिए, त्यसैले शंका उनीतिर गएर टिक्यो,” एसपी कटुवालले बताए । एक महिनाभन्दा बढी समय भारतमै लुकेर बसेका अधिकारीलाई सीआईबीको विशेष टोलीले भारतीय प्रहरीको समन्वयमा नेपाल ल्याएको हो ।
१८ दिनसम्म बेपत्ता, जंगलमा विभत्स शव
असोज २१ गते दिउँसो घरबाट खेल्न निस्किएकी कक्षा ५ की बालिका अंशु १८ दिनसम्म बेपत्ता रहिन् । परिवारजनले खोजीका लागि तत्कालै प्रहरीमा निवेदन दिएका थिए ।
कात्तिक ७ गते घरदेखि करिब साढे चार किलोमिटर टाढा जंगलमा उनको टाउको र शरीर अलग–अलग अवस्थामा कुहिएको अवस्थामा फेला परेको थियो ।
शव फेला परेको स्थान नजिकै अंशुले लगाएका ट्राउजर, हाफ–पाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा “बलात्कारपछि हत्या” भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
हत्या त्यही दिन, असोज २१ मै भएको निष्कर्ष
अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय र सीआईबीको संयुक्त टोलीले अंशु घरबाट हराएकै दिन असोज २१ गते उनको हत्या भएको प्रबल प्रमाण भेटेको जनाएको छ ।
आजै विस्तृत तथ्य सार्वजनिक गरिँदै
एसपी कटुवालका अनुसार घटनाबारे विस्तृत विवरण आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिनेछ ।
“घटनाको कारण गहिरो छ, हामी आजै सबै तथ्य सार्वजनिक गर्छौँ,” उनले भने ।
पक्राउ परेका पदम अधिकारी पेशाले किसान हुन् र अंशुकै छिमेकी । उनी पक्राउ परेसँगै यो जघन्य अपराधको वास्तविकता के हुँदैछ भन्नेबारे अब प्रहरीले विस्तृत खुलासा गर्ने तयारी गरेको छ ।