२१ मंसिर, घोराही ।
दाङको घोराहीमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगितामा दाङ भ्याली कलेज हाप्किडो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ। सातै प्रदेशका १५४ विद्यालयका खेलाडीहरूको सहभागितामा सम्पन्न प्रतियोगितामा दाङ भ्याली कलेजले ९ स्वर्ण, ९ रजत र १२ कास्य पदक जित्दै उपाधि हात पारेको हो।
दोस्रो र तेस्रो स्थानमा गोरखा आइडियल र दुर्गा मावि
प्रतियोगितामा लालमटियाको गोरखा आइडियल स्कुलले ५ स्वर्ण र ३ कास्य जित्दै दोस्रो स्थान हासिल गर्यो।
त्यस्तै डडेलधुराको दुर्गा माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेर तेस्रो भयो।
उत्कृष्ट खेलाडी— चन्द्र सारु मगर र मेग्मा गुरुङ
पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि डडेलधुराका चन्द्र सारु मगरले हात पारे भने महिलातर्फ कास्कीको महेन्द्र माध्यमिक विद्यालयकी मेग्मा गुरुङ उत्कृष्ट घोषित भइन्।
राइजिङ स्टार– करलस खड्का र ज्यास्लीन पौडेल
राइजिङ स्टार खेलाडी श्रेणीमा पुरुषतर्फ गोरखा आइडियल स्कुल, लालमटियाका करलस खड्का र महिलातर्फ सगरमाथा स्कुल, गोग्लीकी ज्यास्लीन पौडेल सम्मानित भए।
उत्कृष्ट रेफ्री— अमृत गुरुङ र एलिशा खड्का
रेफ्रीतर्फ पुरुषमा नुवाकोटका अमृत गुरुङ र महिलामा दाङकी एलिशा खड्का उत्कृष्ट बने।
अनुशासन श्रेणीमा पुरुषतर्फ चितवनका धिरज पौडेल र महिलातर्फ रौतहटकी दिलु तामाङले सम्मान पाए।
सम्मान तथा समापन समारोह
दाङ भ्याली कलेजमै आयोजित समापन कार्यक्रममा नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर, उपमहासचिव मोहमद समिर हल्वाई, प्रमुख प्रशिक्षक प्रविण गुरुङ, संयोजक विशाल थापा लगायतको उपस्थितिमा विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिता पाँच दिनसम्म सञ्चालन भएको थियो।
सातै प्रदेशका विद्यालय प्रतिनिधित्व गर्ने १५४ विद्यालयका खेलाडीहरूको सहभागिताले यस वर्षको विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता अत्यन्तै प्रतिस्पर्धात्मक बनेको आयोजकले जनाएको छ।