कञ्चनपुर ।
विदेशमा आम्दानी नबढेपछि निराश भएर फर्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी आज सफल व्यावसायिक सागसब्जी किसानका रूपमा परिचित छन्। साउदी अरबबाट अपेक्षित कमाइ नभएपछि गाउँमै केही गर्ने दाहो खाजिरहेका चौधरीले स्थानीय अग्रज किसानसँग सिक्दै खेतीलाई व्यवसायिक मोडमा लगे।
“रित्तो हात फर्किएका पीडाले गाउँमै उद्यम गर्ने सोच दियो,” चौधरीले भने, “जग्गा भए पनि सीप थिएन, खेतीका अग्रज किसानसँग मिलेर प्रविधि, मल–विषादी व्यवस्थापनदेखि सबै सिकेँ।”
वर्षमा १२ लाख आम्दानी
परम्परागत खेतीले परिवार पाल्नै मुस्किल पर्ने जमिनमा चौधरीले आज वर्षैभरि सागसब्जी उत्पादन गर्दै वार्षिक झन्डै १२ लाख रुपैयाँ कमाइरहेका छन्। उनी दुई विघा क्षेत्रफलमा काउली, खुर्सानी, गोलभेँडा लगायतका सागसब्जी लटरम्म फलाउँदै आएका छन्।
उनको सफलताले गाउँका धेरै युवालाई विदेश होइन, स्वदेशमै परिश्रम गरेर पनि जीवन परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिएको स्थानीयहरूको भनाइ छ।
प्रेरणाले अर्को व्यावसायिक किसान जन्मियो
जनक चौधरीबाट प्रेरित भएर सोही क्षेत्रका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीतर्फ आकर्षित भएका छन्। खेतीबाटै राम्रो आम्दानी भएपछि उनले बजार विस्तारका लागि आफ्नै पिकअप भ्यान किनेका छन्, जसले उत्पादनलाई बनारसम्म पुर्याउन सहज बनाएको छ।
उनका अनुसार अन्नबालीभन्दा सागसब्जीखेतीले धेरै नाफा दिने भएकाले अब आफूले पूर्ण रूपमा सागसब्जी व्यवसायमै केन्द्रित हुने निर्णय गरेका छन्।
कञ्चनपुरका किसानहरू निरन्तर प्राविधिक सीप, बजार पहुँच र उत्पादन विविधीकरण गर्दै गएमा सागसब्जीखेती प्रदेश–सातमै उद्यमशीलताको बलियो मोडल बन्ने कृषिविद्हरूको आकलन छ।