चितवन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछि अध्ययन हुने प्राविधिक नर्सिङ (पीसीएल) कार्यक्रमलाई निरन्तरता दिने तयारी थालिएको बताउनुभएको छ।
भरतपुर अस्पतालमा ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको उद्घाटनपछि आयोजित कार्यक्रममा उहाँले अस्पतालहरूमा आवश्यक स्टाफ नर्सको अभाव देखिएकोले पीसीएल नर्सिङ पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।
“ठूला मेडिकल कलेज र आफ्नै अस्पताल सुविधा भएका कलेजलाई अनुमति दिने गरी तयारी भइरहेको छ,” मन्त्री गौतमले भन्नुभयो। उहाँका अनुसार अध्यादेशमार्फत आवश्यक प्रावधान थपेर भए पनि छिट्टै यो कार्यक्रम सुरु गर्ने योजनामा सरकार अघि बढेको छ।
मन्त्रालयले सात विषयगत क्षेत्रका सुधारका योजना बनाइरहेको उल्लेख गर्दै मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिलाको स्वास्थ्य तथा बालबालिका स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो। साथै स्वास्थ्य बीमा सुधार, औषधिको गुणस्तर, खरिद प्रक्रिया पारदर्शी बनाउने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
“हामीले विस्तृत प्रतिवेदन तयार पारेका छौँ, शीघ्रै नतिजा देखिनेछ,” मन्त्री गौतमले भनिन्।
सो अवसरमा बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य उत्तम जोशीले स्वास्थ्य सेवा सुधारका लागि नीतिगत रूपमै परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालका सुविधाबारे जानकारी गराउँदै केही चुनौतीहरू अझै कायम रहेको बताउनुभयो।
ट्रमासेन्टर निर्माणमा करीव रु ११ करोड खर्च भएको र उपकरणका लागि रु २ करोड ५० लाख विनियोजन गरिएको समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो। हाल १५ श्ययाबाट सेवा सुरु गरिएको ट्रमासेन्टरलाई आगामी दिनमा ५० श्यया क्षमतासहित विस्तार गर्ने लक्ष्य राखिएको छ।