मुस्ताङ
हिमाली जिल्ला मुस्ताङमा दुर्लभ तथा लोपोन्मुख प्रजाति हिउँ चितुवाको वास्तविक सङ्ख्या पत्ता लगाउन ‘क्यामेरा ट्यापिङ’ मार्फत अध्ययन सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उच्चलेक क्षेत्रमा अनुसन्धान अघि बढाइएको हो।
बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार हिउँ चितुवाको सङ्ख्या एकिन गर्ने, त्यसको आहारा प्रजातिको अवस्था बुझ्ने, मानव–वन्यजन्तु द्वन्द्व पहिचान गर्ने तथा जलवायु परिवर्तनले बासस्थानमा पारिरहेको प्रभाव अध्ययन गर्ने उद्देश्यले गत हप्तादेखि १५ वटा क्यामेरा जडान गरिएका छन्। झोङ, पुडाक, छेङ्गुर, थोरङफेदी, फल्याक, धार्काजुङ तथा मुस्ताङ–डोल्पा सडकखण्ड आसपासका उच्चलेकमा क्यामेरा स्थापना गरिएको हो।
आजदेखि घरपझोङ गाउँपालिकाको स्याङ, मार्फा र चिमाङ क्षेत्रमा पनि थप क्यामेरा जडान गरिँदैछ। क्यामेरा जडान कार्यमा बायोकोसका बायोलोजिस्ट गुरुङ र सहायक प्रवीन लामा, तथा एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली संलग्न छन्।
स्थापित क्यामेराहरू दुई महिनासम्म उच्चलेकमा राखिनेछन्। सो अवधि पूरा भएपछि क्यामेरामा कैद भएका गतिविधिको डेटा संकलन तथा विश्लेषण गरिने जनाइएको छ। गुरुङका अनुसार संकलित सबै डेटा एक्यापलाई हस्तान्तरण गरिनेछ।
बायोकोस नेपालले अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा विगतदेखि नै क्यामेरा ट्यापिङमार्फत हिउँ चितुवा अध्ययन गर्दै आएको छ। मनाङमा २०२२ देखि लगातार चार वर्ष अध्ययन गरेपछि यसपटक मुस्ताङमा पहिलोपटक व्यवस्थित कार्यक्रम थालिएको हो।
यस्तै, माथिल्लो मुस्ताङमा विद्यावारिधि (पीएचडी) विद्यार्थीले पनि क्यामेरा ट्यापिङमार्फत हिउँ चितुवासम्बन्धी अनुसन्धान सुरु गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए।
हालसम्म मुस्ताङमा कति हिउँ चितुवा छन् भन्ने यथार्थ पत्ता लाग्न नसकेको अवस्था छ। पछिल्लो समयमा भने हिउँ चितुवा बस्ती तथा सडक नजिक आइपुग्ने, पशुपालकका गोठमा छिरिने घटनाहरू बढ्दै गएका छन्। जलवायु परिवर्तनका कारण उच्चलेकमा घाँस र पानीको कमी भएपछि नाउर लगायत आहारा पशुहरू तल्लो भागतिर झर्ने, र त्यसैको पछ्याइमा हिउँ चितुवा पनि बस्ती नजिक आउनुले मानव–वन्यजन्तु द्वन्द्व चुलिएको देखिन्छ।
उता, बढ्दो तापक्रमका कारण कम उचाइमा बस्ने ‘कमन लेपर्ड’ पनि माथिल्लो क्षेत्रमा सरिरहेको देखिन थालेपछि चितुवा प्रजातिहरूबीचको बासस्थान ओझेल परिने जोखिम थपिएको बताइन्छ। मुस्ताङमा मानव–चितुवा सहअस्तित्व तथा संरक्षण चुनौती थपिँदै गएको सरोकारवालाको भनाइ छ।