वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल थोक बजार औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। महानगरमा थोक बजारको अभाव भइरहेकाले नयाँ बजारले किसान, व्यवसायी र उपभोक्तालाई ठूलो सहजता पुर्याउने अपेक्षा गरिएको छ।
सञ्चालन शुभारम्भ गर्दै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बजार छपकैयाँवासीकै नाममा निर्माण गरिएको बताउँदै स्थानीयको सक्रिय भूमिकाले मात्र यसलाई सफा, सुरक्षित र व्यवस्थित राख्न सकिने धारणा व्यक्त गरे। उनका अनुसार डेढ वर्षअघि नै सञ्चालनमा ल्याउन खोजिए पनि विविध कारणले ढिलाइ भएको हो।
प्रमुख सिंहले बिपी उद्यान क्षेत्रका व्यवसायीका कारण बजार सञ्चालनमा ढिलाइ गरिएको उल्लेख गर्दै अब त्यहाँ रहेको अव्यवस्थित बजार हटाउने अभियान सुरु गरिने बताए। ‘‘बिपी उद्यानका व्यवसायीलाई छपकैयाँको बजारमा स्थानान्तरण गर्न विकल्प दिइसकिएको छ,’’ उनले भने।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनपछि किसान र उपभोक्ता दुबै लाभान्वित हुने बताए। अव्यवस्थित थोक बजार नहुँदा किसानले सडकछेउ वा अस्थायी स्थानमा बिक्री गर्नुपर्ने बाध्यता समाप्त हुने, उपभोक्ताले व्यवस्थित रूपमा खरिद सेवा पाउने र सवारी सञ्चालन पनि सहज हुने उनको भनाइ छ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा करिब ७० लाख रुपैयाँ लागतमा तयार गरिएको १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएको छ । बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास तथा सुरक्षा व्यवस्थासहित आधारभूत सुविधा उपलब्ध गराइएको छ।
महानगरले दोस्रो चरणमा थप ७० लाख लगानी गर्दै भौतिक संरचना र युनिट संख्या विस्तार गर्ने योजना अघि सारेको छ। खुद्रा र थोक व्यवसायलाई छुट्टाछुट्टै संरचनाबाट सञ्चालन गरिने भएकाले दीर्घकालीन योजनासहित व्यवसाय गर्न सहज हुने महानगरको दाबी छ।