अमेरिका
अमेरिकी सरकारले इरानी नागरिकलाई डिपोर्ट गर्ने दोस्रो चरणको अभियान प्रारम्भ गरेको छ। आइतबार ५० जना इरानी आप्रवासी लिएर चार्टर्ड फ्लाइट अमेरिकाबाट उडान भरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै ट्रम्प प्रशासनले सुरु गरेको ठूलो डिपोर्टेशन अभियानअन्तर्गत इरानीहरूलाई फिर्ता पठाउने प्रक्रिया तीव्र भएको छ।
गत सेप्टेम्बरमा पनि अमेरिकाले चार्टर्ड फ्लाइटमार्फत सयौँ इरानी नागरिकलाई फिर्ता पठाएको थियो। द न्यूयोर्क टाइम्सका अनुसार यसपटक झन्डै २ हजार इरानी डिपोर्ट गर्ने तयारी गरिएको छ। आइतबार एरिजोनाको मेसोबाट उडेको जहाज इजिप्ट र कुवेत हुँदै तेहरान पुग्ने बताइएको छ।
अमेरिका र इरानबीच १९७९ यता औपचारिक कुटनीतिक सम्बन्ध नरहे पनि डिपोर्ट गरिएका आप्रवासीलाई स्वदेश फर्काउने विषयमा दुवै मुलुकबीच समन्वय भएको उल्लेख गरिएको छ। उक्त उडानमा रहेका ५० इरानीसँगै केही अरब मुलुक तथा रसियाका नागरिक पनि रहेको र उनीहरूलाई इजिप्टको कायरोमा झारिने जानकारी आएको छ।
डिपोर्ट गरिएका धेरैजसो व्यक्तिहरू दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका, लामो समय डिटेन्सन सेन्टरमा बसेका तथा शरण निवेदन अस्वीकृत भएका रहेको बताइएको छ। इरानको विदेश मन्त्रालयका कन्सुलर सेवा निर्देशक मोज्ताबा सस्ती करिमीले आगामी दिनमा थप करिब ५५ जना इरानी स्वदेश फर्किने बताएका छन्। उनले अमेरिकी आप्रवासन नीतिलाई जातीय भेदभावपूर्ण रहेको आरोप लगाए।
यसबीच, इरानी–अमेरिकी सांसद यास्सामिन अन्सारीले चार्टर्ड फ्लाइटमा संवेदनशील र जोखिममा परेका व्यक्तिहरू पनि परेका हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेकी छन्। गत सेप्टेम्बरमा फिर्ता पठाइएका केही डिपोर्टीले आफूहरूलाई जबरजस्ती विमानमा चढाइएको र अमेरिका तथा कतारमा दुर्व्यवहार भएको आरोप लगाएका थिए, यद्यपि दुबै देशले ती आरोप अस्वीकार गरेका छन्।
सिएनएनले डिपोर्ट हुन लागेको एक इरानी युवा–समलिंगी व्यक्तिसँग गरेको अन्तर्वार्तामा उनले इरान फर्काइए फाँसीको जोखिम हुने बताए।
ट्रम्प प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो डिपोर्टेशन अभियान चलाउने घोषणा गरिसकेको छ। इरान यात्रा प्रतिबन्ध सूचीमा रहेका १९ देशमध्ये एक भएकाले इरानी नागरिकको कानुनी आप्रवासन मार्ग झन् सीमित भएको छ।