ललितपुर
सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन गरेका छन्। अवलोकनका क्रममा एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले र कम्पनी व्यवस्थापन टोलीले मन्त्री खरेललाई स्वागत गरेका थिए।
अवलोकनपछि भएको बैठकमा एनसेलले मन्त्री खरेललाई कम्पनीको हालको स्थिति, सेवाहरू, आर्थिक क्षेत्रमा पु¥याएको योगदान तथा पछिल्लो जेन जी आन्दोलनका कारण पुगेको क्षतिबारे जानकारी गरायो। आन्दोलनका क्रममा एनसेलले करिब ६५ करोड रुपैयाँ बराबरको क्षति बेहोरेको थियो, जसमा काठमाडौंस्थित एनसेल आइकनसहितका संरचनामा ठूलो नोक्सानी पुगेको उल्लेख गरियो।
मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको योगदानको प्रशंसा गर्दै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, उनले सगरमाथा क्षेत्र र ग्रामीण भेगमा सेवा विस्तार गर्न तथा उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनीलाई सुझाव दिए।
“जेन जी आन्दोलनका क्रममा भएको क्षति दुःखद छ। नेपालमा विशेषगरी प्रत्यक्ष वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ। सरकार एनसेलको साथमा छ,” मन्त्री खरेलले भने। उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको ‘जेन जी प्याक’ र हरेक वर्ष १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजनाको पनि प्रशंसा गरे।
बैठकमा बोल्दै एनसेलका सीईओ माइकल फोलेले देशभर एसईईमा सहभागी हुने १०० विद्यार्थीलाई प्रतिवर्ष छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरे। उक्त सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष स्थापना गरिने जानकारी पनि उनले दिए। “युवालाई सहज सेवा उपलब्ध गराउने लक्ष्यअनुसार हामी छिट्टै जेन जी प्याक सार्वजनिक गर्दैछौं,” फोलेले भने।
फोलेले एनसेल निरन्तर सेवा, सहनशीलता र नयाँ संकल्पसहित अघि बढ्ने बताउँदै सरकारले अघि सारेको डिजिटल नेपाल निर्माणको अभियानमा कम्पनीको डेटा सेन्टर महत्वपूर्ण आधार रहेको उल्लेख गरे।
दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रको रूपान्तरण यात्रामा सक्रिय एनसेलले कर तथा शुल्कमार्फत २०८१/८२ सम्ममा झण्डै ३६० अर्ब रुपैयाँ तिरेको छ। कम्पनीले देशभर प्रत्यक्ष–अप्रत्यक्ष गरी करिब १ लाख रोजगारी सिर्जनामा योगदान पुर्याएको छ।
व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य र वातावरणलगायत क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै कम्पनीले दिगो विकास लक्ष्यमा सरकारका प्रयासलाई निरन्तर सहयोग गरिरहेको छ।