अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको पछिल्लो कूटनीतिक पहलमा रूसले चिसो प्रतिक्रिया दिएको छ। मस्कोले वार्ताका प्रयासहरू अस्वीकार गर्दै ट्रम्पको प्रस्तावलाई ठाडै खारेज गरिदिएको हो। रूसले के चाहन्छ भन्ने विषय धेरै चर्चा भए पनि शान्ति सम्झौताका सन्दर्भमा युक्रेनले राखेका सर्तहरू पूरा नभएकै कारण युद्ध रोकिएन भन्ने प्रश्न उठ्दै आएको छ।
भारत भ्रमणको क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले वासिङ्टनको शान्ति खाका अस्वीकृत गरे। उनले डोनबास क्षेत्र युक्रेनलाई फिर्ता गरिने कुनै सम्भावना नै नभएको बताए। यसअघि अलास्कामा ट्रम्प–पुटिन भेट भए पनि सहमति बन्न सकेन। राष्ट्रपति जेलेन्स्की र ट्रम्पबीच भएको वार्ताबाट पनि कुनै ठोस प्रगति देखिएन। अमेरिकाले शान्ति प्रक्रिया अघि बढाउन खोजे पनि प्रभावकारी नतिजा निस्किन सकेको छैन।
रूसका एजेन्डा के हुन् ?
रूसको प्राथमिक चाहना क्राइमियामाथि दश वर्षदेखि कायम रहेको नियन्त्रणलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु हो। डोनबासका भूभागमा पनि रूसी प्रभाव झन् बलियो हुँदै गएको छ, र मस्को अब यस क्षेत्रलाई स्थायी रूपमा आफ्नो भाग बनाउन चाहन्छ। त्यसका अतिरिक्त, युक्रेनले नेटो सदस्यता आवेदन फिर्ता लिनु र आफ्नो सैन्य संरचना कमजोर पार्नु पर्ने सर्तहरू पनि रूसले अघि सारेको छ। रूस युरोपेली देशहरूको संलग्नता बिना सिधै अमेरिकासँग सम्झौता गर्न चाहन्छ।
युक्रेनका सर्तहरू किन कडा छन् ?
आर्थिक, सैन्य क्षमतामा सानो देश भएर पनि युक्रेनले चार वर्षभन्दा बढी समयदेखि युद्ध मोर्चामा टिकेर लडिरहेको छ। यसको कारण केवल भूमि रक्षा होइन, भविष्यमा रूसबाट हुने सम्भावित पुनः आक्रमण रोक्नु पनि हो।
सन् २०१४ मा क्राइमिया कब्जापछि हाल फेरि ठूलो भूभाग हडप्ने प्रयासले युक्रेनको सुरक्षा चिन्ता बढाएको छ। त्यसैले जेलेन्स्की प्रशासन शान्ति सम्झौतामा युद्ध रोकिएला भन्ने मात्र होइन, दीर्घकालीन सुरक्षा सुनिश्चित हुनुपर्ने अडानमा छ।
युक्रेनले रूसको डोनबास कब्जा स्वीकार्ने कुरा कदापि सम्भव छैन भनेर स्पष्ट गरिसकेको छ। उनीहरूलाई चिन्ता छ—एकपछि अर्को सर्त मान्दै जाँदा रूस अझ बलियो बन्दै पुनः सीमा उल्लंघन करतै अघि बढ्न सक्छ।
‘तुष्टीकरण’ दोहोरिन नदिने अडान
युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहाले हालै १९३८ को म्युनिख सम्झौताका उदाहरण दिए। त्यसबेला युरोपेली शक्तिहरूले जर्मनीलाई चेकोस्लोभाकियाको सुडेटेनल्यान्ड कब्जा गर्न अनुमति दिएपछि शान्ति होइन, उल्टै हिटलरको आक्रामकता झन् बढेको थियो।
उनीहरू भन्छन्—आक्रमणकारीका मागहरू मान्दै जाँदा शान्ति होइन, ठूलो खतरा निम्तिन्छ। यही सन्दर्भले युक्रेन आज कुनै पनि ‘अफर’ स्वीकार्न सावधान छ।
नेटो सदस्यता र दीर्घकालीन सुरक्षा
युक्रेनले प्रमुख सुरक्षा ग्यारेन्टीका रूपमा नेटो सदस्यता माग गर्दै आएको छ। यसले रूसको सम्भावित भविष्य आक्रमण रोक्ने दीर्घकालीन सुरक्षा पाउने विश्वास युक्रेनको छ। तर यिनै मुद्दाहरूमा अमेरिका–पश्चिम र रूसबीचको मतभेद चर्किएको छ।
अमेरिकी प्रस्तावअनुसार युक्रेनले नेटो आवेदन फिर्ता लिनुपर्ने शर्त राखिएको छ, जुन युक्रेनका लागि ‘सुरक्षा आत्मसमर्पण’ सरह ठानिएको छ। युक्रेनले यो प्रस्ताव अस्वीकार गर्नुको कारण यही हो—रूसले आफ्नो निर्णायक सुरक्षा आवश्यकता नियन्त्रण गर्न खोजेको संकेत मानिएको छ।
मानवअधिकारका मुद्दा र युद्ध अपराधका आरोप
रूसमाथि युद्धका क्रममा युक्रेनी बालबालिकालाई जबरजस्ती आफ्नो क्षेत्रमा लैजाने, विद्यालय–अस्पतालमा लक्ष्यित आक्रमण गरी महिलामात्र बालबालिका मारिएकोजस्ता आरोपहरू लगातार उठिरहेका छन्। यस्ता घटनाले युक्रेनलाई कुनै अविश्वसनीय सम्झौतामा हस्ताक्षर गर्दा जोखिम झन् बढ्ने तर्कलाई बलियो बनाएको छ।
ट्रम्पको शान्ति प्रस्ताव हाल जटिल भू–राजनीतिक स्वार्थ, सुरक्षा चिन्ता र रूस–युक्रेनका कडा सर्तहरूको बाझाबाझमा अल्झिएको छ। दुबै पक्षका मागहरू परस्पर विरोधी रहेकाले तत्काल स्थायी शान्ति सम्भावना अहिले पनि टाढाकै देखिन्छ।