काठमाडौँ
मंसिर १ गतेदेखि सञ्चालनमा आएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आजदेखि प्लेअफ चरणमा प्रवेश गर्दैछ। दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रॉयल्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम यसपटक पनि उत्कृष्ट लयमा देखिएको छ।
भोलि दिउँसो ४ बजे काठमाण्डु नाइट्स र लुम्बिनी अर्चर्सबीच इलिमिनेटर हुनेछ। पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनल प्रवेशका लागि दोहोरो मौका पाउनेछ। दोस्रो क्वालिफायर आगामी बिहीबार र फाइनल खेल शनिबार हुने छ।
लिग चरणको प्रदर्शन
ब्याटिङतर्फ विदेशी खेलाडीहरू चम्किए। पोखरा एभेन्जर्सका एडम रोसिङ्टन एक शतक र दुई अर्धशतकसहित ३२३ रन बनाउँदै शीर्ष स्थानमा रहे। कर्णाली याक्सका मार्क वाट २४६ रनसहित दोस्रो तथा चितवन राइनोजका रवि बोपारा २३७ रनसहित तेस्रो स्थानमा रहे।
नेपाली ब्याट्सम्यानमध्ये लुम्बिनीका कप्तान रोहितकुमार पौडेल २०८ रन बनाएर अगाडि रहे भने सुदूरपश्चिमका विनोद भण्डारी २०१ रनसहित उनलाई पछ्याइरहेका छन्।
बलिङतर्फ विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १५ विकेट लिएर अग्रस्थानमा छन्। सुदूरपश्चिमका अविनाश बोहरा १४ विकेटसहित दोस्रो, काठमाण्डुका शाहब आलम १२ विकेटसहित तेस्रो स्थानमा छन्। काठमाण्डुका कप्तान करण केसीले पनि १२ विकेट हात पारेका छन्।
टिमहरूको यात्रा
सुदूरपश्चिमले लिग चरणमा एक खेलबाहेक सबैमा जीत निकाल्दै शीर्ष स्थान सुरक्षित गर्यो। विराटनगरले ५ खेल जित्दै उत्कृष्ट प्रदर्शन गर्यो र यसै क्रममा अघिल्लो संस्करणमा बनाएको १९३ रनको कीर्तिमान तोड्दै यसपटक २२० रनको नयाँ उच्च स्कोर बनायो। टोलीले यस संस्करणमा दक्षिण अफ्रिकाका स्टार खेलाडी फाफ डु प्लेसिसलाई पनि समावेश गरेको छ।
काठमाण्डुले पनि ५ खेल जित्यो तर सुदूरपश्चिम र विराटनगरसँग पराजित हुँदै तेस्रो स्थानमा रह्यो। लुम्बिनीले उतार–चढावपूर्ण लयका बीच अन्तिम तीन खेल जितेर प्लेअफ स्थान सुरक्षित गर्यो। पोखरा, कर्णाली र चितवन मध्यम प्रदर्शनमा रहे भने गत वर्षको विजेता जनकपुर बोल्ट्स एकमात्र जीतसहित पुछारमा रह्यो।
एनपीएलको रौनक
कुल ३२ खेलमध्ये १९ खेल फ्लडलाइटमा सम्पन्न भएका थिए। अब बाँकी रहेका सबै ४ खेल पनि रातमै हुनेछन्। यसपटक धेरै विदेशी खेलाडी अनुबन्धित भएपछि एनपीएलको उत्साह शहरदेखि गाउँसम्म फैलिएको आयोजकको दाबी छ।