काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसीसी यू–१९ एसिया कपका लागि अशोक धामीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको सूचीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रदर्शन गरेका चार नयाँ खेलाडीलाई स्थान दिइएको छ।
एनपीएलबाट अभिषेक तिवारी (पोखरा एभेन्जर्स), साहिल पटेल (विराटनगर किंग्स), विपिनप्रसाद शर्मा र युवराज खत्री (कर्णाली याक्स) टोलीमा समावेश भएका छन्। यसअघि एसीसी यू–१९ प्रिमियर कप खेलेका दर्श सोनार, अपराजित पौडेल, नितिशकुमार पटेल र सुशिलबहादुर रावल यसपटक टोलीबाट बाहिरिएका छन्।
अफगानिस्तान क्रिकेट बोर्डको आयोजनामा एसिया कप डिसेम्बर १२ देखि २१ सम्म यूएईमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेर श्रीलंका, अफगानिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहनेछन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले डिसेम्बर १३ मा श्रीलंकाविरुद्ध खेल्दै अभियान सुरु गर्नेछ। यस्तै, नेपालले डिसेम्बर १५ मा बंगलादेश र डिसेम्बर १७ मा अफगानिस्तानसँग सामना गर्ने कार्यक्रम छ।
भर्खरै मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपविजेतासँगै नेपालले १०औं पटक एसिया कपमा स्थान सुरक्षित गरेको हो।