काठमाडौँ
खजुरीको नेपाल प्रालिले उत्पादन गरेको दुई ब्याचका पफमा तोकिएको सीमाभन्दा बढी ट्रान्सफ्याट फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री–वितरणमा रोक लगाएको छ। बजारमा पुगेका पफ फिर्ता (रिकल) गर्न पनि विभागले निर्देशन दिएको छ।
विभागकी प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार खजुरीका B1–3A र B1–5A ब्याचका पफमा ट्रान्सफ्याटको मात्रा २ प्रतिशतभन्दा बढी देखिएको हो। उनका अनुसार बजार र उद्योगबाट संकलन गरिएका नमुनाको परीक्षणपछि तत्काल फिर्ता लिन र बिक्री नगर्न निर्देशन जारी गरिएको छ।
साथै अन्य कम्पनीका पफलाई पनि अनुसन्धान प्रक्रियामा ल्याइएको विभागले जनाएको छ। “मापदण्डअनुसार पफ उत्पादन भएको छ कि छैन भन्नेबारे निरीक्षकहरूलाई परीक्षण अघि बढाउन निर्देशन दिएका छौँ,” डा. शर्माले भनिन्।
विभागले सो पफमा प्रयोग गरिएको बोसोबारे पनि शंका व्यक्त गरेको छ। प्रारम्भिक अनुसन्धानमा दूधबाट बन्ने प्राकृतिक बटरको सट्टा बेकरीमा प्रयोग हुने बटर प्रयोग भएको देखिएको विभागले जनाएको छ। समस्या भेटिएका पफ पूर्णरूपमा नष्ट गर्न निर्देशन दिइएको छ।
खाद्य ऐनअनुसार स्वच्छता वा गुणस्तर नपुगेका तथा मानव उपभोगका लागि सुरक्षित नठहरिएका खाद्य पदार्थ बाजारबाट तत्काल फिर्ता गर्न सकिने व्यवस्था छ। साथै फिर्ता गरिएको उत्पादनको विवरण ७ दिनभित्र विभागमा बुझाउनुपर्नेछ।
खजुरीको नेपाल प्रालिले भने उत्पादन “पूर्ण रूपमा हानिकारक नभएको” दाबी गर्दै, विभागले औँल्याएका कमजोरीहरूपछि उल्लेखित दुई ब्याचका पफ फिर्ता लिइरहेको जनाएको छ। अन्य सबै उत्पादन गुणस्तरयुक्त रहेको कम्पनीको दाबी छ। तीन दशकदेखि खाद्य उत्पादनमा संलग्न कम्पनीले विश्वव्यापी रूपमा यस्ता त्रुटि कहिलेकाहीँ हुनसक्ने उल्लेख गरेको छ।
के हो ट्रान्सफ्याट ?
ट्रान्सफ्याट (ट्रान्स फ्याटी एसिड) सबैभन्दा खतरनाक प्रकारको बोसो मानिन्छ। यसले शरीरमा लाभदायक बोसोको मात्रा घटाउने, कोलेस्ट्रोल असन्तुलन गर्ने र मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढाउने गर्छ। फास्टफुड, बेकरी उत्पादन, मार्जरिन, क्रयाकर, इन्स्टेन्ट मिक्सजस्ता खाद्य पदार्थ ट्रान्सफ्याटका प्रमुख स्रोत हुन्।
डा. शर्माका अनुसार अत्यधिक ट्रान्सफ्याट सेवनले दीर्घकालीन स्वास्थ्य समस्या, मुटु रोगको खतरा र हर्ट–अट्याकसम्म निम्त्याउनसक्छ, त्यसैले यसको मात्रा २ प्रतिशतभन्दा कम हुनु अनिवार्य छ।