बारा
जीतपुर सिमरा उपमहानगर–२० स्थित बकुलियामा तीन दशकदेखि रोकिएको खानेपानी योजनाको काम पुनः सुरु गरिएको छ। २०५४ सालमा सुरु भएर उपभोक्ता समिति गठनमा देखिएको विवादका कारण अलपत्र रहेको योजना सोमबार पुनः शिलान्यास गरिएको हो।
तत्कालीन भवानीपुर–जितपुर गाविसको पहलमा करिब १० लाख लागतमा सुरु गरिएको योजनाअन्तर्गत पानी ट्याङ्की, कार्यालय भवन र पम्प हाउस निर्माण भए पनि पाइपलाइन विस्तार रोकिएपछि यिनै संरचना वर्षौँदेखि जीर्ण अवस्थामा थिए। ‘उपभोक्ता समिति गठनको विवादले अन्तिम केन्द्रीय काम हुन सकेन,’ तत्कालीन गाविस अध्यक्ष तथा प्रदेश सभा सदस्य देवनारायण चौधरीले बताए। ‘अहिले सबै पक्षको सहमतिमा नयाँ समिति गठन भएपछि फेरि निर्माण अघि बढेकोमा हामी खुसी छौँ,’ उनले भने।
पुनः सुरु गरिएको योजनाको शिलान्यास प्रदेश सभा सदस्य चौधरीले स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका अगुवा तथा सरोकारवाला व्यक्तिहरूको रोहवरमा गरे।
उपमहानगरले ठेक्का प्रक्रियामार्फत २ करोड ५७ लाख रुपैयाँ लागतमा पुरानो पानी ट्याङ्की तथा कार्यालय भवन मर्मत, पम्प हाउस सुधार, नयाँ पाइपलाइन विस्तार र आवश्यक संरचना संरक्षण गर्ने जनाइएको छ।
स्थानीय मिरा पुरीले वर्षौँदेखि त्यागिएको योजना पुनः सञ्चालनमा आएकाले जनतामा उत्साह बढेको बताइन्। ‘पहिले यहाँ ठूलो पानीको मूल थियो, अहिले सुकिसक्यो। ढिलो भए पनि घरघरमा खानेपानी पुग्ने आशाले हामी खुसी छौँ,’ उनले भनिन्।
उपमहानगरका इन्जिनियर सञ्जीव रुपाखेतीका अनुसार योजना पूर्ण रूपमा कार्यान्वयन भएपछि हजारौं नागरिकलाई व्यवस्थित र स्वास्थ्यकर खानेपानी आपूर्ति हुने छ। ‘सबै पक्षले सहयोग गरे योजना समयभन्दा अगाडि पनि सम्पन्न हुन सक्छ,’ उनले बताए।
योजनाको निर्माण पिआर थापा ब्रोदर्स जेभीले लिएको छ। कम्पनीका प्रमुख सुरेन्द्र थापाले विद्यमान संरचना मर्मत, घेराबारा निर्माण तथा नयाँ पाइप विस्तारमार्फत जनतासम्म पिउनयोग्य पानी पु¥याउने तयारी भइरहेको जानकारी दिए।
उपमहानगरले असार मसान्तभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।