काठमाडौँ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरू कार्यान्वयन नगरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले सरकारका तर्फबाट पटक–पटक आश्वासन आए पनि आयोगका सिफारिसहरू व्यवहारमा नउत्रिएको बताए। उनले आयोगले सुझाव र सिफारिसमार्फत पीडितका हकहित सुनिश्चित गर्न खोजे पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको आरोप लगाए।
मगरका अनुसार पीडितलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा समेत सरकारले आवश्यक प्रक्रिया अघि नबढाएको छ। मानवअधिकार संरक्षणका लागि सुशासन अनिवार्य रहने उल्लेख गर्दै उनले बढ्दो भ्रष्टाचारले अधिकार हननको जोखिम बढाएको बताए।
अध्यक्ष मगरको भनाइमा, “भ्रष्टाचार मौलायो, सुशासन कमजोर भयो भने मानवअधिकार ओझेलमा पर्छ। त्यसैले मानवअधिकारको रक्षाका लागि सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार निर्मूल गर्न ठोस कदम चाल्नुपर्छ।”
उनका अनुसार मुख्य सचिवले आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यावहारिक प्रगति नदेखिएको छ। समिति गठन भए पनि काम अघि बढ्न नसकेको बताए।
मगरले थपे, “हामीले धेरैपटक आश्वासन पाइसक्यौँ। आशा छ— यसपटक मुख्य सचिवज्यूको आश्वासन सफलीभूत हुनेछ। हाम्रा सिफारिस कार्यान्वयन हुनेछन्, पीडितले क्षतिपूर्ति पाउनेछन्, र मानवअधिकार प्रत्याभूति भएको अनुभूति गर्न सक्नेछन्।”