सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा स्थान बनाउन काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ १९.१ ओभरमै १११ रनमा अलआउट भयो। लुम्बिनीका बलरसामु काठमाडौँका शीर्षक्रमका ब्याटरहरू निरिह देखिए।
काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाएर रनआउट भए। जोन सिम्सन र मोहम्मद आदिल आलमले समान १८ रन जोडे। १७ बलमा एक चौका र एक छक्का प्रहार गरेका सिम्सन लुम्बिनीका कप्तान रोहित पौडेलको बलमा एलबीडब्लू भए। आदिल आलमले ११ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १८ रन बटुले पनि शेर मल्लको बलमा बोल्ड भए।
भीम सार्कीले १४ रन जोड्दा रोहितको बलमा दिलीप नाथले क्याच लिए। त्यस्तै, सन्नी पटेल ७ रनमा रुवेन ट्रम्पलम्यानको एलबीडब्लूमा शिकार बने। करण केसीले ९ रन, वेन चार्ल्सवर्थले ४ रन, मिलिन्द कुमार र रसिद खानले २-२ रन जोडे। आकाश त्रिपाठी १ रनमै आउट भए।
काठमाडौँ ४.१ ओभरमा मात्र १४ रन जोड्दै चार विकेट गुमाएको अवस्थामा पुगेको थियो। समग्रमा काठमाडौँका केवल चार व्याटरले मात्र दोहोरो अंकमा स्कोर गर्न सके।
लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ल चम्किए—दुवैले तीन–तीन विकेट लिँदै काठमाडौँलाई दबाबमा राखे। रोहितले २५ रन खर्चे भने शेरले २२ रन दिए। ट्रम्पलम्यानले ३.१ ओभरमा एक मेडन राख्दै मात्र १० रन खर्चेर दुई विकेट लिए। अविशेष गौतमले एक विकेट झारे।
अब केहीबेरमै लुम्बिनी लायन्सले जवाफी ब्याटिङ सुरु गर्नेछ। यस खेलको विजेताले बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भिड्नेछ।