सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको इलिमिनेटर खेलमा लुम्बिनी लायन्सले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै काठमाडौँ गोर्खाजलाई १११ रनमै समेटेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौँ १९.१ ओभरमै अलआउट भएपछि लुम्बिनीले ११२ रनको लक्ष्य पाएको छ।
पावरप्लेमा काठमाडौँ ‘कोल्याप्स’
लुम्बिनीका बलरहरू शुरूवाती ओभरदेखि आक्रामक देखिए। पावरप्लेभित्र नै काठमाडौँका चार विकेट खस्दा शीर्षक्रमका कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। पिचमा टर्न भइरहेको बलका अगाडि काठमाडौँका ब्याटरहरू संघर्षरत रहे।
दोस्रो ओभरमा आकाश त्रिपाठी (१) शेर मल्लको बलमा रोहित पौडेलबाट क्याच आउट भए। तेस्रो ओभरको पहिलो बलमै सनी पटेल (७) रुबेन ट्रम्पलम्यानको एलबिडब्लूको सिकार बने। चौथो ओभरमा मिलिन्द कुमार (२) लाई शेर मल्लले बोल्ड गरे। त्यसपछि पाँचौँ ओभरमा ओपनर बेन चार्ल्सवर्थ (४) विकेटकिपर निरोशन डिक्वेलाले समात्दै ट्रम्पलम्यानले दोस्रो विकेट जोडे।
मध्यक्रम पनि टिक्न नसक्दा पारी चाँडै भत्कियो
लुम्बिनीका कप्तान रोहित पौडेलले दसौँ ओभरमा लगातार दुई विकेट लिएपछि काठमाडौँ थप दबाबमा पर्यो। भीम सार्की (१४) र जोन सिमसन (१८) आउट भएपछि ९.५ ओभरमै स्कोर ५१/६ पुगेको थियो।
यता, रशिद खान २ रनमै जेजे स्मिटमार्फत क्याच आउट भए। १४औँ ओभरमा आशा गरिएका आदिल अन्सारी (१८) लाई शेर मल्लले बोल्ड गरे। कप्तान करण केसी ९ रनमै आउट हुँदा काठमाडौँ संकट गहिरिँदै गयो। अन्त्यतिर सन्तोष यादवले २३ रन बनाए पनि टोलीलाई सम्मानजनक स्कोरसम्म लैजान सकेनन्।
लुम्बिनीको बलिङ चम्कियो
-
शेर मल्ल – ३ विकेट (४ ओभर, २२ रन)
-
रोहित पौडेल – ३ विकेट (४ ओभर, २५ रन)
-
रुबेन ट्रम्पलम्यान – २ विकेट (३.१ ओभर, १० रन, १ मेडन)
लुम्बिनीले आजको खेलमा एक परिवर्तन गर्दै सुमित महर्जनको स्थानमा दिनेश अधिकारीलाई समावेश गरेको थियो। काठमाडौँ भने अपरिवर्तित XI मै उत्रियो।
अबको समीकरण
आजको खेलको विजेता भोलि दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भिड्नेछ। त्यस खेलको विजेता शनिबार अपरान्ह साढे ३ बजे हुने फाइनलमा पुग्नेछ, जहाँ सुदूरपश्चिम पहिल्यै स्थान पक्का गरिसकेको छ।
दुवै टोलीको खेलाडी सूची
लुम्बिनी लायन्स:
रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेजे स्मिट, रुबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्सी शर्ट।
काठमाडौँ गोर्खाज:
करण केसी (कप्तान), शहाब आलम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, सनी पटेल, जोन सिमसन।