काठमाडौं
नेपाल उद्योग परिसंघ (सिएनआइ) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालन भइरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले उद्योग विभागको समन्वयमा ‘स्वदेशी बजार २०२५’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी शनिबार सानेपास्थित अन्तर्राष्ट्रिय क्लबमा एक दिनका लागि हुने छ।
‘नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान’ भन्ने अवधारणामा आधारित उक्त प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि र घरेलु उत्पादनको बजार पहुँच विस्तार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। साना, मझौला तथा घरेलु उद्योगका लागि निःशुल्क स्टल र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार्यक्रममा करिब तीन हजारभन्दा बढी सहभागिता अपेक्षित छ।
कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित वस्तु, वस्त्र, हस्तकला, कला उद्यम, आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी सामग्री, सजावट सामग्री, चिया तथा पेय पदार्थलगायतका क्षेत्रका ४० भन्दा बढी उद्योग प्रदर्शनीमा सहभागी हुनेछन्। सहभागी उद्योगहरूले आफ्ना उत्पादन सार्वजनिक रूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष संवाद गर्ने र सम्भावित खरीदकर्ता तथा व्यवसायिक साझेदारसँग नेटवर्क विस्तार गर्ने अवसर पाउनेछन्।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी बजार २०२५ ले नेपाली सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्दै स्वदेशी उत्पादन उपभोगलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरे। सरकारी नीतिले स्वदेशी उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिइरहेको अवस्थामा यस्तो प्रदर्शनीले उद्योगी–उद्यमीको मनोबल बढाउने अपेक्षा गरिएको छ।