काठमाडौं ।
ऊर्जामन्त्री कुलमान घिसिङको सक्रियतामा गठन भएको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणका लागि चलिरहेको संवाद प्रक्रियालाई तत्कालका लागि रोक्ने निर्णय गरेको छ।
पार्टी गठन अघि कुलमानले रास्वपाका शीर्ष नेतासँग निरन्तर संवाद गरेका थिए। तर सहमति नजुटेपछि उनी नयाँ दल गठनमा लागे र हाल उज्यालो नेपाल निर्वाचन आयोगमा दर्ता भइसकेको छ। पूर्वसचिव अनुप उपाध्याय अध्यक्ष र ५१ सदस्यीय केन्द्रीय समितिसहित पार्टीले १७ मंसिरमा घोषणा सभा पनि सम्पन्न गरिसकेको छ।
संवादले संगठन निर्माणमा असर
उज्यालो नेपाल पार्टीका अनुसार रास्वपासँग एकताको संवादले पार्टी संगठन विस्तारमा नै बाधा परिरहेको निष्कर्ष निकालेपछि केन्द्रीय समितिको बैठकले तत्कालका लागि संवाद स्थगित गर्ने निर्णय गरेको हो। गणेश घिसिङ नेतृत्वको टोली संवादमा थिए तर रास्वपाले एकपछि अर्को कडा शर्त अघि सारेपछि एकता निकट भविष्यमा सम्भव नहुने ठहर गरिएको नेताहरुले बताए।
पार्टी सभापति, चुनाव चिन्ह जस्ता विषयमा आफूहरू लचक रहे पनि रास्वपाले कुनै ठोस आधार प्रस्तुत नगरेको प्रवक्ता डा. राजु थापाको भनाइ छ। उनका अनुसार अब पार्टीले संगठन विस्तारलाई प्राथमिकतामा राख्नेछ।
कुलमान–रास्वपा असमञ्जस
पहिलेदेखि चर्चामा रहेको मुद्दा भनेको सभापति पद हो। रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले कुलमानलाई उपसभापति भएर पार्टीमा प्रवेश गर्ने आग्रह गरेका थिए। तर कुलमानले पार्टी सभापतिबाटै नेतृत्व गर्नुपर्ने अडान राखेकाले सहमति जुट्न नसकेको बताइन्छ।
उज्यालो नेपालका नेताहरुले उल्टै रास्वपाबाट कुलमानको विषयलाई अतिरञ्जित रुपमा सार्वजनिक गरिँदै गलत छवि बनाउने प्रयास भएको आरोप पनि लगाएका छन्।
वैकल्पिक शक्तिहरूबीच सहकार्यको प्रयास
कुलमान, मेयर बालेन शाह, रास्वपा, तथा जेनजी आन्दोलनसँग सम्बद्ध सुदन गुरुङबीच वैकल्पिक शक्ति निर्माणका विषयमा पछिल्ला महिनामा तीव्र संवाद भएको थियो। सुदन गुरुङले त नख्खु कारागारमै गएर रास्वपासँग एकता वार्ता गर्ने तयारी भएकोसमेत सार्वजनिक गरेका थिए।
उज्यालो नेपाल पक्षका अनुसार बालेन शाह रास्वपाभन्दा आफूहरूसँग बढी नजिक छन् भने आफूहरूले कुलमानलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने विषयमा पनि संवाद भएको थियो। तर सभापति रवि लामिछाने समूहमै रहेको आपसी शक्ति सन्तुलनको डरले एकता अड्किएको दाबी नेताहरूको छ।
नाम, चिन्हमा लचकता पनि काम आएन
उज्यालो नेपालले रास्वपाको चुनाव चिन्ह र सभापतिको व्यवस्था स्वीकार गर्ने लचकता देखाए पनि दलको नामका केही विकल्प मात्र प्रस्ताव गरेको थियो—जस्तै राष्ट्रिय उज्यालो पार्टी, उज्यालो स्वतन्त्र पार्टी आदि।
तर रास्वपाले स्पष्ट निर्णय नलिँदा एकता प्रक्रिया अनिश्चित बनेको उज्यालो नेपालका नेताहरू बताउँछन्।
अब संगठन विस्तारमै फोकस
उज्यालो नेपालले अब आक्रामक रूपमा संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने बताएको छ। चुनाव अघि एकता हुने सम्भावना प्रायः टुंगिएको भए पनि चुनावी गठबन्धनबारे भने सहकार्यको सम्भावना खुला रहने प्रवक्ता थापाले बताए।
५१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी थप सदस्य समेट्ने तयारी भइरहेको र रास्वपाबाट पनि केही नेताहरू आउन सक्ने संकेत पार्टीभित्रबाट प्राप्त भएका छन्।