काठमाडौँ
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले युरोपियन च्याम्पियन्स लिगमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। बुधबार क्लब ब्रुगविरुद्धको खेलमा प्रभावशाली ज्याकमा आर्सनलले ३–० को जित दर्ता गर्दै समूह चरणमा शतप्रतिशत नतिजा कायम राख्यो।
छ खेलबाट १८ अंक बटुलेको आर्सनलले दोस्रो स्थानमा रहेको बायर्न म्युनिकमाथि तीन अंकको अग्रता लिएको छ। यससँगै शीर्ष आठभित्र रहँदै सिधै अन्तिम–१६ मा प्रवेश गर्ने आर्सनलको सम्भावना प्रायः सुनिश्चित भएको छ।
लन्डन क्लबलाई जित दिलाउन नोनी माडुकेले दुई गोल गर्दा ग्याब्रिएल मार्टिनेलीले एक गोल थपे।
यसैबीच, अर्को चर्चित खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई २–१ ले पराजित गर्यो। बर्नाबाउमा रियलले रोड्रिगोको गोलबाट अग्रता लिए पनि सिटीका निको ओरेलीले बराबरी गोल फर्काए। त्यसपछि इर्लिङ हालान्डले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै सिटीलाई मूल्यवान् जित दिलाए। यस हारसँगै रियलमाथि समूह चरणबाट अगाडि बढ्ने दबाब थपिएको छ।
अन्य खेलहरूमा आयाक्सले कोराबागलाई ४–२, कोपनहेगनले भिल्लारियललाई ३–२, बेनफिकाले नेपोलीलाई २–० र युभेन्ट्सले पाफोसलाई २–० ले हराए।
एथलेटिको बिलबाओ र पेरिस सेन्ट–जर्मेन (पीएसजी) बीचको खेल गोलरहित बराबरीमा सकियो। बायर लेभरकुजन र न्युकासल युनाइटेड (२–२), बोरुसिया डर्टमुन्ड र बोडो/ग्लिम्ट (२–२) को खेल पनि बराबरीमै टुंगियो।
एक अंक गुमेपछि पीएसजी १३ अंकसहित तेस्रो स्थानमा रह्यो। फ्रान्सेली क्लब विजयी भएको भए दोस्रो स्थानमा उक्लने महत्वपूर्ण मौका हात पर्ने थियो।