काठमाडौँ
आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। हिमनदी पग्लँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर–चुनौतीबारे जनचेतना बढाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसंघले सन् २००३ देखि पर्वतीय जीवन र वातावरणका मुद्दामा ध्यानाकर्षण गर्न भनेपछि यो दिवस मनाउने परम्परा आरम्भ भएको हो। यस वर्ष पनि विश्वका धेरै मुलुकमा पर्वतीय समुदाय र वातावरण संरक्षणका पक्षमा समर्थन जुटाउने कार्यक्रम आयोजना भइरहेका छन्।
रोमस्थित संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा पर्वतीय जीवन, हिमनदी विज्ञान, वातावरणीय जोखिम तथा दिगो विकासबारे प्रवचन, प्रदर्शनलगायत कार्यक्रम सञ्चालन हुँदै छन्।
राष्ट्रसंघका अनुसार विश्वका करिब दुई अर्ब मानिस पर्वतीय क्षेत्रबाट बग्ने पानीमा निर्भर छन्। तर पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण पर्वतीय वातावरण तीव्र जोखिममा परिरहेको छ। हिमनदी द्रुत गतिमा पग्लँदै गएका कारण विश्वका धेरै क्षेत्रका पानी स्रोत जोखिममा छन्। तापक्रम वृद्धि रोकिएन भने अरू हिमनदी पनि हराउने वैज्ञानिकहरूको चेतावनी छ।
त्यस्तै, विश्वभर करिब एक करोड ५० लाखभन्दा बढी मानिस हिमनदी पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिम (GLOF) को उच्च संवेदनशीलतामा रहेका छन्। अन्तर्राष्ट्रिय पर्वत दिवसले यस्ता जोखिमबारे सतर्कता बढाउँदै पर्वत–पहाड संरक्षण, दिगो विकास र सुरक्षित भविष्यका लागि विश्वव्यापी सहकार्यमा जोड दिन्छ।