काठमाडौँ
लोकप्रिय नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’ को दोस्रो संस्करण घोषणा गरिएको छ। प्रतियोगिता दुई तहमा सञ्चालन हुने आयोजक नेपाल लोक नृत्य सेन्टर का अध्यक्ष केशव कोइरालाले जानकारी दिएका छन्।
उनका अनुसार, जुनियर समूहमा कक्षा २–५ सम्मका विद्यार्थी तथा सिनियर समूहमा कक्षा ६–१० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई नृत्य नेपाल संघले सहकार्य गरेको छ।
प्रतियोगिताको मुख्य निर्णायकमा शम्भु शाही रहेका छन् भने अन्य निर्णायकमा सुनिल गिरी, अनिता गोले तामाङ, रमेश बुढाथोकी र कृष्ण रसाल रहेका छन्। अडिसन राउण्डबाट छनोट भएका विद्यार्थीहरूलाई नृत्य कार्यशाला (वर्कसप) मा सहभागी गराइनेछ, जसको प्रशिक्षण दक्षिणा लामा दावा, सरोज श्रेष्ठ र अभि वाग्ले ले दिनेछन्। वर्कसप दस्तुर ३,५०० रुपैयाँ तोकिएको छ भने आवेदन फारम दर्ता शुल्क ५०० रुपैयाँ हुनेछ।
वर्कसप पछि सहभागीहरूको फोटोशुट समेत गरिने आयोजकले जनाएका छन्। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आवश्यक सामग्री आफ्नै व्यवस्था गर्नुपर्नेछ र नेपाली गीतमा मात्र प्रस्तुति दिन पाउनेछन्।
प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रथम पुरस्कारमा रु २०,०००, दोस्रोमा रु १०,०००, तेस्रोमा रु ७,०००, चौथोमा रु ५,००० र पाँचौं पुरस्कारमा रु ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
यसैगरी, उत्कृष्ट हाउभाउ, भेषभूषा, मौलिकता, दर्शकको रोजाइ र उत्कृष्ट प्रस्तुति गरी पाँच विशेष विधामा पनि ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिनेछ। आयोजकले ‘नृत्य नेपाली पारा’लाई बालबालिकाको प्रतिभा अभिव्यक्तिको प्रभावकारी मञ्च बनाउन लक्ष्य राखेको बताएका छन्।