ताप्लेजुङ, मंसिर २५
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पूरा गर्न पार्टी एकता गरिएको स्पष्ट गर्दै वाम ध्रुवीकरणको प्रक्रियाले नेकपा पहिलो शक्ति बन्ने दाबी गरेका छन्। बिहीबार ताप्लेजुङमा आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुरेलले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट समाधान र समाजवादी मार्गलाई संस्थागत गर्ने लक्ष्यसहित पार्टी निर्माण भएको बताए।
उनका अनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थी दलहरुले समाजवादी क्रान्ति पूरा गर्ने सैद्धान्तिक सहमतिसहित पार्टी एकता गरेका हुन्। विपक्षी दलहरूले निर्वाचन जित्ने उद्देश्यले मात्र एकता गरिएको भ्रम फैलाइरहेको आरोप लगाउँदै गजुरेलले “एकता चुनावका लागि होइन, समाजवादी क्रान्तिका लागि हो” भने।
उनले केही नेताहरू सच्चिन र रूपान्तरण हुन नचाहेकाले एकतामा सहभागी नभएको बताउँदै, बनेको नयाँ पार्टीले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने क्रम तीव्र भएको दाबी गरे। “यो पटकको पार्टी एकता विगतका मोडेलभन्दा फरक छ,” गजुरेलले भने, “वाम विचारधारामा आस्था भएका सबै विद्वान, नेता–कर्मचारी नेकपातर्फ आकर्षित हुँदै छन्।”
यसैबीच, नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि पार्टी एकता समाजवादको मार्गलाई अँगाल्ने दीर्घकालीन लक्ष्यसहित गरिएको बताए। उनले बृहत् वाम मोर्चा निर्माणतर्फ एकताबद्ध प्रयास भइरहेको उल्लेख गर्दै नेकपा देशको पहिलो पार्टी बन्ने सम्भावना बढेको दाबी गरे।
एमालेभित्र पनि रूपान्तरण चाहनेहरूको ठूलो संख्या रहेको र महाधिवेशनपछि केही नेताहरू नेकपामा समाहित हुन सक्ने चर्चा भइरहेको राईले बताए। “ओलीको स्वेच्छाचारी प्रवृत्तिले एमालेभित्र असन्तोष बढेको छ,” उनले भने, “रूपान्तरण चाहने कतिपय नेता नयाँ पार्टीमा आउने मनस्थितिमा छन्।”
प्रदेशको नामाकरणबारे बोल्दै राईले पहिचानका आधारमा कोशी प्रदेशको पुनःनामकरण गरिनुपर्ने अडान कायम रहेको दोहोर्याए। एकीकृत समाजवादीकालीन नीति र दृष्टिकोणलाई नै निरन्तरता दिँदै पहिचानको मुद्दा अघि बढाइने उनले बताए।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, खेमबहादुर वनेम, असल पन्दाकलगायतले पनि सम्बोधन गरेका थिए। अधिकांश वक्ताले नेपाली कम्युनिस्ट पार्टीको निर्माण वर्तमान राजनीतिक परिस्थिति र समयको माग भएको निष्कर्ष प्रस्तुत गरे।