अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको युक्रेन–रूस युद्ध अन्त्य योजना तीव्र रूपमा कूटनीतिक एजेन्डा बन्दै जाँदा युक्रेनले बुधबार सो योजनाबारे बुँदागत प्रतिक्रिया अमेरिकालाई पठाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रमुख वार्ताकार रुस्तेम उमेरोभले ट्रम्पका ज्वाइँ जेरेड कुश्नरमार्फत आफ्नो टिप्पणी र संशोधन प्रस्ताव पठाएको अमेरिकी अनलाइन माध्यम एक्सियसले जनाएको छ।
एक युक्रेनी अधिकारीका अनुसार प्रस्ताव कार्यान्वयनयोग्य बनाउन टिप्पणी र संशोधनहरू समावेश गरिएको छ।
यसैबीच, ट्रम्पले बुधबार नै फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रों, बेलायती प्रधानमन्त्री कियर स्टार्मर र जर्मनीका चान्सलर फ्रेडरिच मर्जसँग फोनमार्फत सो योजनाबारे छलफल गरेका थिए। उता, जेलेन्स्कीले पनि युद्धपछिको पुनर्निर्माणबारे कुश्नरसहित अमेरिकी अधिकारीसँग संवाद गरेका छन्। जेलेन्स्कीले बिहीबार म्याक्रों, स्टार्मर र मर्जसँग भिडियोवार्ता गर्ने कार्यक्रम तय भएको छ।
अमेरिकाले युक्रेनी नियन्त्रणका केही भूभाग रूसलाई हस्तान्तरण गर्दै शान्ति सम्झौता गर्न दवाब दिइरहेको बताइन्छ। तर जेलेन्स्की भने आफ्नो नियन्त्रणमा रहेको कुनै पनि भूमि नछोड्ने अडानमा अडिग छन्। यही विषयमा जेलेन्स्कीले गत शनिबार ट्रम्पका विशेष दूत स्टिभ विटकफ र कुश्नरसँग दुई घण्टा लामो कुराकानी गरेका थिए।
पुटिनसँग पाँच घण्टे छलफल निष्कर्षविहीन
ट्रम्पको शान्ति योजनाबारे डिसेम्बर २ मा विटकफ र कुश्नरले मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग पाँच घण्टा छलफल गरेका थिए। तर पुटिनका सहयोगी युरी उशाकोभले ‘भूमिजन्य अनसुल्झेका विषय’ मुख्य अवरोध भएको बताएका थिए। त्यसपछि विटकफ–कुश्नर टोली अमेरिकामा फर्केर युक्रेनी अधिकारीलाई पुटिनको प्रतिक्रिया ब्रिफिङ गरेका थिए।
जेनेभादेखि वाशिङ्टनसम्म कूटनीतिक ‘पिङ–पङ’
ट्रम्प प्रशासनले युक्रेनसँग सल्लाह नगरी तयार पारेको २८ बुँदे योजनाप्रति व्यापक आलोचना भएपछि अमेरिका र युक्रेनले जेनेभामा संयुक्त छलफल गर्दै नयाँ १९ बुँदे मस्यौदा बनाएका थिए। तर मुख्य विवादित विषय—युक्रेनी भूमि रूसलाई हस्तान्तरण र नेटोसँगको सम्बन्ध—ट्रम्प र जेलेन्स्कीले प्रत्यक्ष वार्ताबाट टुंग्याउने सहमति भएको थियो।
यहीक्रममा अमेरिकामा फेरि भएको छलफलपछि विटकफ पुटिनलाई ‘ब्रीफ’ गर्न रूस पुगे। त्यसपछि पुटिनका माग सम्बोधनबारे अमेरिका–युक्रेनबीच थप छलफल भएको र सोका आधारमा पुनः जेलेन्स्की–कुश्नरबीच संवाद भएको बताइन्छ।
युक्रेन अडानमा कडा, रूस–ट्रम्प ब्लकको दबाब दोहोरो
पुटिन लामो समयदेखि क्राइमिया, डोनबाससहित युक्रेनका केही असंवेदनशील भूभागसमेत रूसलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएका छन्। लुहान्स्कको अधिकांश भाग र दोनेत्स्कको केही भाग कब्जा गरेको भए पनि १० प्रतिशतभन्दा बढी दोनेत्स्क क्षेत्र अझै युक्रेनकै नियन्त्रणमा छ। त्यहाँ ‘बलियो रक्षा संरचना’ भएकाले रूसका लागि सैन्य रूपमा कब्जा कठिन मानिन्छ।
यही कारण युक्रेनले भूमि सुम्पने प्रस्ताव बारम्बार अस्वीकार गर्दै आएको छ। जेलेन्स्कीले पनि शनिबारको कुराकानीमा आफ्नो नियन्त्रणमा रहेको कुनै पनि भूभाग रूसलाई नछोड्ने अडान दोहोर्याएका थिए।
युरोप र अमेरिकी रिपब्लिकनमै असन्तुष्टि
ट्रम्प सरकारको युक्रेनलाई अडाएर बनाइएको योजनाप्रति युरोपेली देशहरूले कडा आपत्ति जनाउँदा अमेरिकी रिपब्लिकन पार्टीभित्रै पनि विरोध बढ्दै गएको छ। केही सांसदले त सो दस्तावेज “रूसकै प्राथमिकता र शैली अनुसार बनेको” भन्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोको नामसमेत जोडेर आरोप लगाएका छन्।
तीव्र आलोचनापछि ट्रम्पले आफ्नो प्रस्ताव अन्तिम विकल्प नभएको र आवश्यक परे संशोधन गर्न सकिने बताएका छन्। तर योजनामा समावेश विषय—युक्रेनले भूभाग सुम्पने, सेना घटाउने, पश्चिमी शान्ति सेनाको भूमिका नहुने—रूसका दीर्घकालीन मागसँग मिल्दोजुल्दो रहेको बताइन्छ।
अब पनि छलफल जारी
अमेरिका–युक्रेनबीच नयाँ मस्यौदाबारे भएका पछिल्ला छलफलहरूको विवरण सार्वजनिक नभए पनि मुख्यतः भूमिजन्य विषयमै केन्द्रित रहेको बुझिन्छ। लगातार कूटनीतिक संवाद जारी रहे पनि युक्रेनले आफ्नो भूमि नत्याग्ने अडान स्पष्ट रूपमा दोहोर्याइरहेको छ, जसले आगामी वार्ता कति जटिल हुुने हो भन्ने प्रश्न उठाएको छ।