नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र सक्रिय राजनीतिक भूमिकाबाट अलग हुने घोषणा गरेका हुन्।
रानाले पारिवारिक कारणले पार्टीका जिम्मेवारीमा आवश्यक सक्रियता जनाउन नसक्ने अवस्था आएपछि राजनीतिक यात्राबाट विश्राम लिने निर्णय लिएको बताएका छन्। उनले भनेका छन्, “एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु। सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि देश, जनता र पार्टीको हितमा अनुभवका आधारमा योगदान दिनेछु।”
दुई दशकभन्दा बढी एमाले राजनीतिमा बिताएका राना २०३५/३६ सालमा तत्कालीन नेकपा मालेसँग सम्पर्कमा आएपछि कम्युनिस्ट राजनीतिमा सक्रिय भएका थिए। उनले युथ कम्युनिस्ट लिगमार्फत् गतिविधि सुरु गरेका थिए।
राजनीतिक सुरुआतमा पेशागत संगठनमा आबद्ध रहेका राना पारामेडिकल एसोसियसन पाल्पाका जिल्ला नेतृत्व बने। जातीय सामुदायिक संरचना अन्तर्गत तत्कालीन लांघाली परिवार (नेपाल मगर संघ) को पाल्पा जिल्ला सचिवको भूमिका समेत सम्हाले। भूमिगत अवधिमा उनले गुल्मी जिल्ला कमिटी प्रमुख र दुईपटक पाल्पा जिल्ला कमिटी सचिवको जिम्मेवारी निर्वाह गरेका थिए।
एमालेको आठौँ महाधिवेशनपछि राना केन्द्रीय कमिटीमा प्रवेश गरेका थिए। उनी लुम्बिनी प्रदेश कमिटी सह–इन्चार्ज, नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यसमेत बने। पछिल्लो समयमा उनी पार्टीको भूमि व्यवस्था विभाग इञ्चार्ज थिए।
जनप्रतिनिधिका रूपमा रानाले २०४९ सालमा वडा अध्यक्ष हुँदै राजनीतिक उचाइ बढाए। उनी पाल्पाबाट तीनपटक—प्रतिनिधि सभा सदस्य (२०५१, २०७४) र संविधान सभा सदस्य (२०७०)—निर्वाचित भएका थिए। २०७० मा उनले भूमि सुधार तथा व्यवस्था मन्त्रीका रूपमा छोटो अवधि काम गरेका थिए।
लामो समयदेखि पार्टीमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका रानाको बिदा घोषणालाई एमाले निकट वृत्तमा विशेष टिप्पणी गरिएको छ।