काठमाडौं
चन्द्रागिरिस्थित आफ्नै निवासमा आयोजित पाँचारे भोजका लागि २०८१ चैत १५ गते बिहानदेखि रजक परिवारमा चहलपहल थियो। तर, उही बिहान एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजक नियमित काममा निस्कँदै घरबाट गरेको अन्तिम बिदाइ बन्न पुग्यो।
सुरेश त्यस दिन तीनकुनेमा आयोजना हुन लागेको राजतन्त्र समर्थकहरूको विरोध प्रदर्शनको दृश्य कैद गर्न घर छाडेका थिए। निस्कँदा उनले श्रीमती सुजनलाई भनेका थिए, “म आन्दोलनमा जाँदैछु, जात्राको पनि फोटो–भिडियो खिचेर चाँडै फर्किन्छु।” सुजनले पनि सावधानीपूर्वक भनिन्, “अगाडि–अगाडि नजानु है, चाँडै फर्कनु।” तर यही संवाद दम्पतीबीचको अन्तिम भयो।
सुजनका अनुसार सुरेश कामप्रति अत्यन्त समर्पित थिए। भान्जा राजेशले पनि “किन यति थकित?” भनेर सोधेपछि सुरेशले रातभर ननिदाएको बताएका थिए। सुजन भन्छिन्, “उहाँ जतिपटक घरबाट निस्कनुहुन्थ्यो, टर्निङमा पुगेर टाउको हल्लाउँदै बिदाइ संकेत दिनुहुन्थ्यो। त्यो दिनको संकेत अन्तिम रहेछ।”
दुर्भाग्यपूर्ण मृत्यु
तीनकुनेमा आन्दोलन उग्र बन्दै गइरहेको बेला सुरेशका दाइ दिनेश रजक पनि नजिकै दृश्य कैद गर्दै थिए। झडपपछि प्रदर्शनकारीले नजिकको एक घरमा आगो लगाए। बाहिरबाटै आगलागी दृश्य खिचिरहेका दिनेशलाई थाहा थिएन—सुरेश भने सोही घरभित्र अड्किएर जलेका रहेछन्।
पहिलो दमकल आगो नियन्त्रण गर्न असफल भएपछि थप दमकल आएर मात्र आगो निभाइयो। पछि अध्ययन–अनुसन्धानबाट पुष्टि भयो–आन्दोलन कभरेजकै क्रममा सुरेश आगलागीमा परेर मृत्यु भएको हो।
सरकारको निर्णय : पत्रकार रजक सहिद
तीनकुने घट्नामा ज्यान गुमाएका सुरेश रजकलाई मङ्सिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेको छ। यो निर्णय लामो समयदेखि न्यायको खोजीमा रहेको परिवारका लागि ठूलो राहत बनेको छ। परिवारका अनुसार यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलमा सम्भव भएको हो।
श्रीमती सुजन मगिया भन्छिन्, “सहिद घोषणाले सुरेशले न्याय पाएको अनुभूति भयो। सात महिनासम्म निराश थियौँ, तर नयाँ सरकारले पीडा सुनेर छोटो समयमा न्याय दियो।” उनले अघिल्ला सरकार र मानवअधिकारवादी संस्थाबाट सहयोगको अपेक्षा गरे पनि निराश हुनुपरेको बताइन्।
सुरेशका आफन्त पुरुषोत्तम मगियाले पनि सरकारको निर्णयलाई स्वागत गर्दै भने, “पेसागत जिम्मेवारी निर्वाह गर्ने क्रममा ज्यान गुमाएका पत्रकारलाई सहिद घोषणा गर्नु सरकारको सकारात्मक कदम हो। मन्त्री खरेलको पहलप्रति परिवार आभारी छ।”
सञ्चारमन्त्री खरेलको सक्रियता
यसअघि पनि सञ्चारमन्त्री खरेलले सुरेशकी श्रीमती सुजनलाई सुरक्षण मुद्रण केन्द्रमा ‘कम्प्युटर अपरेटर’का रूपमा रोजगारीको व्यवस्था गरिसकेका थिए। मन्त्रालयले गृह मन्त्रालयसँग निरन्तर समन्वय गर्दै, प्रधानमन्त्री र मन्त्रीहरूलाई विषयमा अवगत गराउँदै सहिद घोषणाको प्रक्रिया अघि बढाएको थियो।
यसबाहेक परिवारले माग गरेको निष्पक्ष छानबिन समिति गठन र दोषीमाथिको कारबाहीका विषयमा पनि मन्त्रालयले निरन्तर चासो राखेको छ। सुजन भन्छिन्, “हाम्रो बाँकी माग पनि यही सरकारले पूरा गर्छ भन्ने आशा छ।”
सुरेशका दाइ दिनेश र अन्य आफन्तहरूले पनि सहिद घोषणालाई स्वागत गर्दै मन्त्री खरेलप्रति आभार व्यक्त गरेका छन्।