काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन भोलिदेखि सुरु हुने तयारी पूरा भएको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने संकेत देखिँदै गर्दा महासचिव पद कसलाई दिने भन्ने प्रश्नले दुवै पक्षलाई कठिनाइ परेको छ।
अध्यक्षपछिको शक्तिशाली मानिने महासचिवमा दुवै समूहका नेताहरू सक्रियता देखाइरहेका छन्। ओली समूहबाट वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली दाबेदार छन्। उता, पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट र योगेश भट्टराई दौडधुपमा छन्। बिष्ट–भट्टराई खुलेर लबिइङमा लागेका जबकि पाण्डे भने सहमतिमै अघि बढ्ने रणनीतिमा देखिन्छन्।
यसबीच, पृथ्वीसुब्बा गुरुङ ओली समूहबाट टिकट नपाउने सम्भावना देखेपछि पोखरेल समूहतिर आकर्षित भएको बुझिएको छ। उनलाई महासचिव बनाउने गरी बिष्ट, भट्टराई, पाण्डेलगायत पोखरेल समूहका नेताहरू अन्य पदमा जाने तयारीमा रहेको स्रोतले बताउँछ।
अध्यक्षबाहेक अन्य पदमा आफ्नो समूहबाट उमेदवार तोक्ने विषयमा दुवै धार आन्तरिक छलफलमै छन्। ओली समूह आफ्ना नेताहरूलाई रोक्ने प्रयासमा छ भने पोखरेल समूह ओली पक्षका नेताहरूलाई पदको अफर गर्दै तान्ने रणनीतिमा लागेको देखिन्छ।
महाधिवेशन तयारी अन्तिम चरणमा
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको तयारी १३ वटा समिति मार्फत अन्तिम चरणमा पुगेको छ। नेता–कार्यकर्ताको चहलपहल च्यासलस्थित पार्टी कार्यालयमा बढेको छ। करिब ७५ प्रतिशत प्रतिनिधि काठमाडौं आइसकेका छन्। आज सचिवालय बैठक बोलाइएको छ।
संगठन विभागले २ हजार ५७१ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। विधानमा हेरफेर नभए १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ।
‘फेरि अध्यक्ष हुन सक्छु’ — ओली
अध्यक्ष ओलीले सहमति भए वा प्रतिनिधिले फेरि चुने आफू अध्यक्ष बन्न तयार रहेको बताएका छन्। नेतृत्वमा पुस्तान्तरण क्रमशः अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले सहमतिको पहल आन्तरिक रूपमा गर्न उपाध्यक्ष पोखरेललगायत नेताहरूसँग आग्रह गरे।
ओलीले एमालेलाई जनताको चाहनाअनुसार चल्ने पार्टी भन्दै महाधिवेशनले पार्टीको हैसियत देखाउने दाबीसमेत गरे। २७ मंसिरको उद्घाटन सत्रमा उपस्थित भएर एमालेको शक्ति हेर्न उनले आलोचकहरूलाई चुनौती दिए।