काठमाडौं
आज डिसेम्बर १२ को दिन ‘स्वास्थ्य सर्वव्यापी पहुँच दिवस’ मनाइँदैछ। ‘स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा, सुलभ स्वास्थ्य सेवाः हाम्रो चाहना’ भन्ने मूल नारा सहित देशभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
स्वास्थ्यमा सर्वव्यापी पहुँच भन्नाले आर्थिक कठिनाइ बिना सबैले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु भन्ने बुझिन्छ। यसमा स्वास्थ्य प्रवद्र्धन, रोग रोकथाम, उपचार, पुनर्स्थापना तथा जीवनको उत्तरार्धमा आवश्यक पर्ने दीर्घ हेरचाहसम्मका सेवा समेटिन्छन्। यस्तो पहुँच सुनिश्चित गर्न सुदृढ प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई आधार मानिने गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक सेवा सहज उपलब्ध हुने र गुणस्तरीय उपचार प्राप्त गर्ने मौलिक हकलाई सुनिश्चित गर्न वार्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी कार्यक्रम संविधान, जनस्वास्थ्य सेवा ऐन, जनस्वास्थ्य नियमावली तथा राष्ट्रिय स्वास्थ्य नीतिहरूका आधारमा कार्यान्वयन हुँदै आएका छन्।
संघीय संरचना लागूपछि सामाजिक–आर्थिक भिन्नता, शैक्षिक अवस्था र फरक स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी मन्त्रालयले नयाँ राष्ट्रिय स्वास्थ्य नीति तयार पारेको छ। उक्त नीतिले गुणस्तरीय स्वास्थ्य सेवा सबैसम्म पुऱ्याउन, सेवा–विहीन जनसमुदायमा समतामूलक सेवा उपभोगका अवसर सिर्जना गर्न तथा त्यस्ता समुदायबाट स्वास्थ्य सेवामा माग वृद्धि गराउन जोड दिएको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार आधारभूत स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य सेवा प्रदायकको कार्यदक्षता बढाउने, स्वास्थ्य संस्थाको क्षमतावृद्धि, विशेषज्ञ तथा विशिष्टिकृत सेवा विकास, र नागरिकको आवश्यकता तथा क्षमता अनुरूप स्वास्थ्य बीमा कार्यक्रम परिमार्जन गर्ने कार्य प्राथमिकतामा रहेका छन्।