नेपाल पर्यटन बोर्डको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने लक्ष्य राखेकी श्रद्धा श्रेष्ठ त्यसो हुन नपाउँदै एक वर्षमै मन्त्री पदसम्म पुगेकी छन्। बोर्डका तत्कालीन सीईओ धनञ्जय रेग्मीको कार्यकाल समाप्त भएपछि प्रतिस्पर्धामा उत्रिएकी श्रेष्ठ अन्तिम चरणमा भने पछि परिन् र पूर्वसीईओ दीपकराज जोशी नियुक्त भए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको पहलमा जोशी बोर्डको नेतृत्वमा फर्किएपछि श्रेष्ठको पहिलो महिला सीईओ बन्ने सम्भावना त्यतिबेलै बन्द भएको थियो।
बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा काम गरिरहेकी श्रेष्ठ केही महिनाअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा चर्चामा आएकी थिइन्। उनी निकट व्यक्तिहरूसँग मन्त्रालयको जिम्मेवारी लिन–नलिनेबारे नै होइन, आफू मन्त्री नै हुने–नहुने विषयमा समेत गहन छलफलमा थिइन्। तर गणपतिलाल श्रेष्ठको नाम सिफारिस भएपछि त्यहाँ विवाद झल्किँदा उनको नाम हटाइयो र मन्त्रालय केही समय रिक्त रह्यो।
यद्यपि दुई दशकभन्दा बढी पर्यटन क्षेत्रमा सक्रिय रहेकी श्रेष्ठले पाएको मन्त्रालय भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय हो। पर्यटन क्षेत्रमै लामो अनुभव बोकेकी उनी नयाँ क्षेत्रको जिम्मेवारीमा जुट्न तयार भएको बताइन्छ।
बोर्डमा स्मार्ट र दक्ष कर्मचारीका रूपमा चिनिएकी श्रेष्ठलाई तत्कालीन सीईओ रेग्मीले युएनडीपीको सहकार्यमा सञ्चालन हुने परियोजनाको प्रमुखका रूपमा अघि सारेका थिए। कर्पोरेट र ब्राण्ड व्यवस्थापनतर्फ जिम्मेवारी सम्हाल्दै उनले पर्यटन गन्तव्यको डिजिटल प्रमोशनमा अग्रसर भूमिका खेलेकी थिइन्। कोभिड–१९ महामारीका बेला बनेको पर्यटन संकट समाधान टिममा पनि उनी एक महत्वपूर्ण सदस्य थिइन्।
अमेरिकाको मिसिगन विश्वविद्यालयबाट विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेकी श्रेष्ठ अमेरिकी सरकारको हफ्रे फेलोसिप प्राप्त प्रतिभाशाली पेशेवर मानिन्छिन्।
शिलापत्रसँगको कुराकानीमा उनले आफू मन्त्री पदमा पुगेको यात्रालाई ‘परिस्थितिको उपज’ को रूपमा वर्णन गरिन्। श्रेष्ठले भनिन्, “यस्तै भयो, परिस्थितिले मन्त्री बन्न आइपुगेँ। महिला र बालबालिकाको क्षेत्रमा केही योगदान गर्ने प्रयास गर्छु।”