राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। सिफारिससँगै उनीहरूलाई आजै मन्त्री नियुक्त गर्दै तत्क्षण शपथ ग्रहण प्रक्रिया सम्पन्न गरिएको हो।
सरकारमा समावेश गरिएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन्। राष्ट्रपति कार्यालयका अनुसार चारै मन्त्रीलाई निम्न अनुसारको मन्त्रालय जिम्मेवारी तोकिएको छ—
-
श्रद्धा श्रेष्ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
-
माधव चौलागाईं : वन तथा वातावरण मन्त्रालय
-
राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
-
कुमार इङ्नाम : भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय
कुमार इङ्नाम – भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय
फौजदारी कानुनका वरिष्ठ विज्ञ इङ्नाम २५ वर्षदेखि काठमाडौं स्कूल अफ ल’मा अध्यापन गर्दै आएका प्राध्यापक हुन्। २०४६ सालमा इलामको महेन्द्ररत्न क्याम्पसबाट शिक्षण यात्रा सुरु गरेका उनले कानुनसम्बन्धी दर्जनौँ पुस्तक र अनुसन्धान प्रकाशित गरेका छन्। उनकी प्राज्ञिक योग्यता र अनुसन्धान पृष्ठभूमिलाई ध्यानमा राख्दै उनलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो।
राजेन्द्रसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
पूर्व एआईजी भण्डारी नेपाल प्रहरीका अनुसन्धान अधिकृतका रूपमा परिचित छन्। केन्द्रीय अनुसन्धान व्यूरो (CIB) का संस्थापक प्रमुखसमेत रहेका उनले प्रहरी अध्ययन प्रतिष्ठानको नेतृत्व पनि गरेका थिए। अनुसन्धान क्षमतामा दखल राख्ने भण्डारीलाई श्रम, नियमन र वैदेशिक रोजगारको चुनौतीपूर्ण क्षेत्र सम्हाल्ने जिम्मा दिइएको छ।
माधव चौलागाईं – वन तथा वातावरण मन्त्रालय
लेखक, अनुसन्धानकर्ता तथा कर्णाली अध्ययनका दीर्घकालीन पात्र चौलागाईं कर्णाली क्षेत्रको इतिहास, संस्कृति, विकास र पहिचानबारे सक्रिय रूपमा कार्य गर्दै आएका छन्। ‘कर्णाली उत्सव छलफल अभियान’मार्फत क्षेत्रको मुद्दा उठाउँदै आएका उनले जनस्वास्थ्य र ग्रामीण विकास क्षेत्रमा पनि लामो काम गरे । वातावरणीय दिगोपन र प्राकृतिक स्रोत व्यवस्थापनका जिम्मेवारीसहित उनी वन तथा वातावरण मन्त्रालयमा प्रवेश गरेका छन्।
श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
२४ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत श्रेष्ठ दिगो पर्यटन, व्यवस्थापन र परियोजना सञ्चालनमा स्थापित नाम हुन्। पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक तथा संयुक्त राष्ट्रसंघसँगको ‘दिगो पर्यटन परियोजना’की संयोजक रहिसकेकी उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकाससम्बन्धी अध्ययन गरेकी छन्। फुलब्राइट फेलो रहिसकेकी उनलाई सामाजिक क्षेत्रको महत्वपूर्ण मन्त्रालयको नेतृत्व दिइएको हो।
नवनियुक्त मन्त्रीहरूको अनुभव तथा पेशागत पृष्ठभूमीले सरकारको आगामी कार्यसूची—अनुसन्धान तथा नीति सुधार, प्रशासनिक दक्षता, सामाजिक सुरक्षा विस्तार, वातावरणीय दिगोपन र महिला–बालबालिका सम्बन्धी नीति कार्यान्वयन—मा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ।