दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि विभाजन गर्ने निर्णायक क्षण आज शुक्रबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आउँदैछ। अपराह्न ३:३० बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पहिलोपटक फाइनल यात्रा तय गरेको लुम्बिनी लायन्स भिड्दै छन्।
सुरुआती खेलमा कमजोर प्रदर्शन गरे पनि अन्त्यतिर लय समातेको लुम्बिनी र पुरै सिजन उच्च फर्म देखाइरहेको सुदूरबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
पुरानो घाउ भर्न सुदूर तयार
गएको सिजनमा जनकपुर बोल्ट्ससँग पराजित भएर चुकाएको उपाधि क्षतिपूर्ति गर्ने मनसायसहित सुदूरपश्चिम दोस्रो पटक फाइनल मैदानमा उत्रिँदैछ।
लिग चरणका सातमध्ये छ खेल जितेर शीर्ष स्थान ओगटेको सुदूर विराटनगर किंग्ससँग मात्रै पराजित भएको थियो।
क्वालिफायरमा उही विराटनगरमाथि प्रभावशाली जित निकाल्दै फेरि फाइनल पुग्दा टोलीको आत्मबल उच्च छ।
विदेशी खेलाडी स्कट कुग्लेजन का अनुसार यसपटक उपाधिबाहेक अरू सोचिएको छैन।
“हामी दोस्रो पटक फाइनल खेल्दैछौँ, लक्ष्य उपाधि नै हो। दोस्रो हुनु कहिल्यै राम्रो होइन,” उनले बताए।
उनीसहित टोलीका खेलाडीको आत्मविश्वासले सुदूरलाई बलियो दावेदार बनाएको छ।
घाइते सिंहझैँ पुनरागमन—लुम्बिनीको चमत्कारिक यात्रा
सुरुआतमा निराशाजनक प्रदर्शन गरेर आलोचना झेलेको लुम्बिनी लायन्स अहिले ‘घाइते सिंह’ को उपमा पाउँदै फाइनलमा छिरेको छ।
पहिलो खेल जिते पनि त्यसपछि लगातार तीन हारका कारण प्लेअफ पुग्ने सम्भावना कमजोर देखिएको थियो।
तर अन्तिम तीन खेलमा लगातार जित निकाल्दै चौथो स्थानमा प्लेअफ प्रवेश गरेको लुम्बिनीले
अघिल्लो सिजनमा अंक–तालिकाको पुच्छरमा रहेको यही टोली आज उपाधि जित्नबाट एक खेल टाढा छ।
लुम्बिनीका चर्चित विदेशी खेलाडी डार्शी सर्ट ले फाइनलमै उपाधि कब्जा गर्ने दाबी गरेका छन्।
“हामीले लिग चरणदेखि संघर्ष गर्दै आएका छौँ। सुदूर बलियो छ, तर हामी उपाधि जित्नेछौँ,” सर्टले भने।
एनपिएलमा तेस्रो भेट– को लेख्छ इतिहास?
सुदूरपश्चिम र लुम्बिनी एनपिएल इतिहासमा तेस्रो पटक आमनेसामने हुँदैछन्।
यसअघि भएका दुवै भिडन्तमा सुदूरपश्चिमले विजयी भएको थियो—
आजको फाइनल यी दुईबीचको तेस्रो र सबैभन्दा महत्त्वपूर्ण भिडन्त हो।
सुदूरले ‘जितको ह्याट्रिक’ बनाउने कि लुम्बिनीले ‘घाइते सिंह’को कथा उपाधिसहित पूरा गर्ने—
यसको निर्णय किर्तिपुरमै हुनेछ।
एनपिएल–२ को नयाँ च्याम्पियन आज बेलुकै घोषणा हुनेछ।