एजेन्सी ।
कच्चा तेलको मूल्यमा आएको निरन्तर गिरावट र रुबल मुद्रा बलियो बन्दै गएपछि रुसको तेल तथा ग्यास राजस्व यस डिसेम्बरमा गत वर्षको तुलनामा झण्डै आधाले घट्ने देखिएको छ। रोयटर्सद्वारा सार्वजनिक गरिएको शुक्रबारको गणनाअनुसार, डिसेम्बरमा रुसको ऊर्जा राजस्व ४१० अर्ब रुबलमा झर्ने सम्भावना छ।
उद्योग स्रोत तथा उत्पादन, प्रशोधन र आपूर्तिसम्बन्धी आधिकारिक तथ्यांकमा आधारित गणनाले देखाएअनुसार, यस वर्ष भरिको सरकारी तेल–ग्यास राजस्व करिब एक चौथाइले घटेर ८४ खर्ब ४० अर्ब रुबलमा सीमित हुने आकलन गरिएको छ। यो रकम रुसको अर्थ मन्त्रालयले गरेको ८६ खर्ब ५० अर्ब रुबलको वार्षिक प्रक्षेपणभन्दा कम हो।
यसअघि, अगस्ट २०२० मा महामारीका कारण तेल मूल्य ऐतिहासिक रूपमा घट्दा रुसले ४०५ अर्ब रुबल बराबरको सबैभन्दा कम मासिक तेल–ग्यास आम्दानी गरेको थियो।
तेल तथा ग्यास राजस्व रुस सरकार (क्रेमलिन) को प्रमुख आम्दानी स्रोत मानिन्छ, जसले संघीय बजेटको करिब एक चौथाइ हिस्सा ओगट्छ। तर २०२२ फेब्रुअरीमा युक्रेनमा सैन्य अभियान सुरु गरेयता रक्षा तथा सुरक्षा खर्च अत्यधिक बढेको रुसका लागि ऊर्जा आम्दानीमा भइरहेको यो गिरावट चुनौतीपूर्ण बन्दै गएको छ।
युक्रेन र उसका पश्चिमी सहयोगीहरूले विश्वको दोस्रो ठूलो तेल निर्यातक रुसको अर्थतन्त्र कमजोर पारी युद्ध रोक्न बाध्य पार्ने उद्देश्य रहेको अभिव्यक्ति बारम्बार दिँदै आएका छन्।
रुसको अर्थ मन्त्रालयले प्रारम्भमा यस वर्ष तेल–ग्यास आम्दानी १०९ खर्ब ४० अर्ब रुबल रहने अनुमान गरेको थियो। तर अत्यधिक आपूर्तिको चिन्ताका कारण विश्वबजारमा तेल मूल्य झर्दै गएपछि मन्त्रालयले अक्टोबरमा आफ्नो प्रक्षेपण घटाएको थियो।
नोभेम्बरमा कर प्रयोजनका लागि प्रयोग हुने रुसी तेलको मूल्य अक्टोबरको तुलनामा १७.१ प्रतिशतले घटेर प्रति ब्यारेल ३६०५ रुबलमा झरेको तथ्यांकले देखाएको छ।
रुसको अर्थ मन्त्रालयले डिसेम्बर महिनाको तेल तथा ग्यास राजस्व सम्बन्धी आधिकारिक अनुमान जनवरी १४ मा सार्वजनिक गर्नेछ।