काठमाडौँ
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा गरिँदैछ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा नेपालको एकताको प्रतीक झल्काउने २०० भन्दा बढी कला र संस्कृतिसम्बन्धी झाँकी प्रदर्शन गर्ने तयारी गरिएको छ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १६ वटा दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ। साथै, भ्रातृत्व र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय पार्टी प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको एमालेले जनाएको छ।
महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन २४ वटा जनसंगठनको प्रतिनिधित्व रहने गरी ५०० भन्दा बढी स्वयंसेवक ड्रेसकोडमा परिचालन गरिनेछ। जनसेवाका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक खटाइने तयारी छ।
कार्यक्रमस्थलमा मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएका छन्। तीन किलोमिटर टाढासम्म आवाज पुग्ने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ। मञ्चअगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।
महाधिवेशन उद्घाटनका क्रममा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको प्रतिकृतिको छेउमा विद्युतीय पाला राखी पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत बत्ती बालेर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। ११औँ महाधिवेशनको अवसरमा ११ वटा झण्डामध्ये १० वटा सुरुमै फहराइने र एउटा झण्डा रिमोटमार्फत फहराइनेछ।
सवारी व्यवस्थापनका लागि कोटेश्वरदेखि गट्ठाघरसम्म सवारी आउन सकिने व्यवस्था गरिएको छ। गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर र काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। उद्घाटनअघि गट्ठाघर र जगातीबाट भव्य र्याली निकालिनेछ।
महाधिवेशनको बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिनेछ। महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। ओली तेस्रो कार्यकालका लागि मैदानमा उत्रिँदा पोखरेल पहिलो पटक अध्यक्ष पदमा उम्मेदवार बनेका हुन्। दुवै नेताले पदाधिकारीसहित समूहगत उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेका छन्।