काठमाडौँ
नेपाल प्रिमियर लिग (एनपीएल) मा विदेशी खेलाडीको उपस्थितिले रन र विकेटभन्दा धेरै आयाममा प्रभाव पारेको छ। अन्तर्राष्ट्रिय अनुभव, मैदानबाहिरको ज्ञान साटासाट, टिमभित्रको सकारात्मक ऊर्जा र प्रतियोगिताको ब्रान्ड भ्यालु वृद्धिले एनपीएललाई थप आकर्षक बनाएको छ।
यस सिजन विदेशी खेलाडीले सर्वाधिक रन र ठूला स्कोरमा वर्चस्व देखाए। कर्णाली याक्सका प्रियांक पाञ्चाल, पोखरा एभेन्जर्सका एडम रोसिङ्टन, कर्णालीकै मार्क वाट र चितवन राइनोजका रवि बोपाराले ब्याटिङ तथ्यांकमा शीर्ष स्थान ओगटे। कीर्तिपुरको स्लो पिचमा शतक आफैंमा उपलब्धि मानिँदा रोसिङ्टन र वाटले त्यो सम्भव देखाए। यद्यपि, व्यक्तिगत उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि ती टिमहरू लिग चरणमै बाहिरिनु टी–२० क्रिकेटको अनिश्चितताको उदाहरण बन्यो।
विदेशी खेलाडीको प्रभाव मैदानमै सीमित रहेन। कर्णालीका सोमपाल कामीले अफ-द-फिल्ड संवादबाट रणनीति, मानसिकता र करिअर यात्राबारे धेरै सिकेको बताए। सुदूरपश्चिमका हिक्मत महराले स्कट कुग्लेइनसँग बायाँहाते ब्याटरविरुद्ध बलिङ, अभ्यास तालिका र रिकभरीबारे सिकाइ पाएको अनुभव सुनाए।
विराटनगर र सुदूरपश्चिमबीचको लिग चरणको बहुप्रतीक्षित खेलमा फाफ डु प्लेसिस र साम हेजलेटको विस्फोटक साझेदारीले समर्थकलाई रोमाञ्चित बनायो। कप्तान सन्दीप लामिछानेले यस्तो प्रस्तुति स्थानीय खेलाडीका लागि ‘लाइभ क्लास’ भएको बताए। फाइनल यात्रामा नपुगे पनि विराटनगरमा फाफ, गप्टिल, डी’ल्याङ्गे र मन्सीजस्ता नामले समर्थकको उपस्थितिलाई बाक्लो बनायो।
लुम्बिनीका डी’आरसी शट, नामिबियाका रुबेन ट्रम्पलमन र निरोशन डिकवेलाले लगातार योगदान दिँदै टिमलाई फाइनलसम्म पुर्याए। ट्रम्पलमनले शीर्षक्रम तोड्दै ९ खेलमा १२ विकेट लिए। सुदूरपश्चिमका स्कट कुग्लेइन पनि टिम संरचनाका महत्त्वपूर्ण आधार बने।
यद्यपि सबै चर्चित विदेशी खेलाडी अपेक्षाअनुसार चल्न सकेनन्। जेसन रोय, जिम्मी निसम, डेविड मलान, गुलबद्दिन नैब, जर्ज मन्सी र जेजे स्मिटबाट समर्थक निराश बने। तर निर्देशक दीपेन्द्र चौधरीले क्रिकेट एक बलको खेल भएकाले उतार–चढाव स्वाभाविक हुने बताए।
समग्रमा, एनपीएलको भव्यता र आकर्षणमा विदेशी खेलाडी अभिन्न पाटो बनेका छन्। फ्लडलाइट र प्यारापिटको सुन्दरता, ग्लोबल स्टारको प्रस्तुति र आफ्नै ठाउँको टिमलाई समर्थन गर्ने उत्साह—यी सबैले समर्थकलाई मैदानसम्म बाँधेका छन्। विदेशी खेलाडीको अनुभव र प्रतिस्पर्धाले नेपाली क्रिकेटको विकासमा प्रत्यक्ष टेवा पुगेको स्पष्ट देखिएको छ।