काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको मिति नजिकिँदै गर्दा आफ्नै प्रतिबद्धताविपरीत शुक्रबार चार जना मन्त्री थपेपछि जेनजी अभियन्ताहरू असन्तुष्ट बनेका छन्। चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्कीले क्याबिनेटको सदस्य संख्या १४ पुर्याउनुभएको हो।
यसअघि प्रधानमन्त्री कार्कीले पटक–पटक सार्वजनिक रूपमा आफ्नो मन्त्रिपरिषद् १२ सदस्यभन्दा ठूलो नहुने र विज्ञहरूलाई मात्र मन्त्री बनाइने बताउँदै आउनुभएको थियो। तर पछिल्लो विस्तारले ती प्रतिबद्धतासँग मेल नखाने भन्दै आलोचना सुरु भएको छ।
प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा माधव चौलागाईं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा कुमार इङ्नाम नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ।
सरकार विस्तारको यो कदमले जेनजी आन्दोलनका अभियन्ताहरूलाई असन्तुष्ट बनाएको छ। उनीहरूले प्रधानमन्त्री कार्की मनमौजी ढङ्गले अघि बढेको र आन्दोलनको मूल भावना बिर्सिएको आरोप लगाएका छन्। जेनजी अभियन्ता मोनिका निरौलाले मन्त्री छनोट प्रक्रियामा अभियन्ताहरूको सुझावलाई बेवास्ता गरिएको बताउनुभयो।
‘हामीले सुरुदेखि नै गैरदलीय विज्ञ नियुक्त गर्दा बन्द सूचीबाट होइन, खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने बताएका थियौँ,’ उहाँले भन्नुभयो, ‘गैरदलीय छान्ने हो भने खुला, प्रतिस्पर्धात्मक र समावेशी फ्रेमवर्क अपनाउनुपर्थ्यो, तर हाम्रो प्रस्ताव अल्पमतमा पर्यो।’
अर्का अभियन्ता सौगात विश्वकर्माले नियुक्ति प्रक्रियाले जो–कोही पनि मन्त्री बन्न सक्ने जस्तो अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभयो। ‘सुरुमा केही साथीहरूले प्रधानमन्त्रीलाई छुट दिनुभयो, तर अहिलेको नियुक्ति प्रक्रिया देखेर उनीहरू पनि सन्तुष्ट छैनन्,’ उहाँले भन्नुभयो।
जेनजी युनाइटेड मुभमेन्ट फर चेन्जले पनि मन्त्रिपरिषद् विस्तारप्रति गम्भीर असन्तुष्टि जनाएको छ। अभियन्ता ज्योतिका फुर्केलीले भन्नुभयो, ‘सरकार जेनजीको भनिए पनि जेनजीलाई पूरै बेवास्ता गरिएको छ। मनलाग्दी रूपमा मन्त्रिपरिषद् बनाइएको छ। जेनजीले नै नचिनेका व्यक्ति सरकारमा ल्याइएका छन्।’
प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी एक अभियन्ताले पनि असन्तोष व्यक्त गर्दै भने, ‘को मन पर्यो, कहाँ सेटिङ मिल्यो, उही मन्त्री बनाइयो। के सोचेर आन्दोलन गरेका थियौँ, अहिले के भइरहेको छ!’
चुनावको तयारीमा जुट्नुपर्ने बेला मन्त्रिपरिषद् विस्तारको विवादमा सरकार अल्झिँदा प्रधानमन्त्री कार्की र उनलाई सत्तामा पुर्याउने जेनजी आन्दोलनबीच दूरी बढ्दै गएको टिप्पणी हुन थालेको छ।