काठमाडौं
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुन लाग्दा पार्टीले सञ्चालन गरेको ‘घर फर्क अभियान’ विवादमा परेको छ। उक्त अभियानमार्फत एमालेमा फर्किएका प्रेस चौतारी नेपालका नेता विश्वमणि सुवेदी र रामकुमार एलन महाधिवेशन प्रतिनिधिमा नपरेपछि असन्तुष्टि चुलिएको हो।
महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाप्रति प्रेस चौतारी नेपालका नेताहरूले गम्भीर आपत्ति जनाएका छन्। घर फर्क अभियानका नेतृत्वकर्ता सुवेदीले जारी गरेको विज्ञप्तिमा अभियानअन्तर्गत प्रतिनिधि बनाइएका १८ जनामध्ये केही नामप्रति घोर आपत्ति रहेको उल्लेख गरेका छन्।
उनका अनुसार तत्कालीन नेकपा (एकीकृत समाजवादी)मा केन्द्रीय सदस्य रहेका १३ जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय सकारात्मक भए पनि केन्द्रीय सदस्य रहेका अन्य पाँच जना समेटिन नसक्नु अस्वीकार्य छ। “एउटा विधि बनाएर अर्कै निर्णय गर्नु स्वीकार्य हुँदैन,” विज्ञप्तिमा भनिएको छ।
यदि केन्द्रीय सदस्य नरहेका व्यक्तिलाई पनि प्रतिनिधि बनाउने हो भने समाजवादी प्रेस संगठनलाई प्रेस चौतारीमा फर्काउने नेतृत्वदायी भूमिकामा रहेका नेताहरू प्रतिनिधिका दाबेदार हुनुपर्ने सुवेदीको भनाइ छ। तर, केन्द्रीय सदस्य नरहेका व्यक्तिहरू प्रतिनिधि हुँदा प्रेस चौतारीमा फर्किएका कसैलाई पनि प्रतिनिधित्व नदिइनु खेदजनक भएको उनको आरोप छ।
यस घटनाले एमाले महाधिवेशनपूर्व पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई थप उजागर गरेको छ। यसअघि पनि मनोनीत १०८ प्रतिनिधिको सूची तथा विभिन्न जिल्लामा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद देखिँदै आएको थियो।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ भने बन्दसत्र काठमाडौंमा सञ्चालन हुने पार्टीले जनाएको छ। महाधिवेशनमा २,३०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।