काठमाडौं ।
नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन आज भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुँदैछ। उद्घाटन समारोह सुरु हुनुअघि नै स्थल तथा आसपासका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ।
बिहानैदेखि देशभरिबाट आएका हजारौँ प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरू उपत्यकाका विभिन्न नाकाहरू हुँदै सल्लाघारीतर्फ प्रवेश गरिरहेका छन्। भीड र सवारी चापका कारण काठमाडौं–भक्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने अरनिको राजमार्गमा लामो सवारी लाइन देखिएको छ।
उद्घाटन समारोह दिउँसो १ बजेका लागि तय गरिएको छ। त्यसअघि र्याली आयोजना गरिने कार्यक्रम रहेको छ। उद्घाटनका लागि तयार पारिएको मञ्च, सजावट, ध्वनि प्रणाली तथा झण्डा–ब्यानरले स्थल झकिझकाउ देखिएको छ।
आयोजक समितिका अनुसार स्टेज निर्माणदेखि सुरक्षासम्बन्धी सबै तयारी बिहानसम्म पूरा गरिएको छ। तीनवटै सुरक्षा निकाय उच्च सतर्कतामा छन् भने ट्राफिक प्रहरीले विशेष सवारी व्यवस्थापन लागू गरेको छ।
स्थल वरपर स्वच्छता, स्वास्थ्य सहायता कक्ष, खानेपानी तथा स्वयंसेवक परिचालनसम्बन्धी व्यवस्था पनि सक्रिय बनाइएको छ। कार्यकर्ताहरूलाई सहज आवतजावत र बसोबासका लागि सयौँ स्वयंसेवक खटाइएको आयोजकले जनाएको छ।
महाधिवेशनको औपचारिक उद्घाटनपछि आगामी दिनहरूमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान संशोधन तथा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने कार्यक्रम छ।