भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औँ महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलन, लोकतन्त्र, राष्ट्रियता, संविधान, चुनाव र सहकार्यका विषयमा ११ मुख्य सन्देश दिएका छन्। सामान्यतया लिखित भाषण नगर्ने ओली यसपटक लामो लिखित मन्तव्यसहित प्रस्तुत भए। महाधिवेशनको विधि–प्रक्रियाभन्दा बढी उनले पछिल्ला राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलन केन्द्रित भएर धारणा राखे।
१) एमाले ‘मानक’ पार्टी भएको दाबी
ओलीले एमाले राष्ट्रियता, सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायोनियर’ भएको दाबी गरे। ३८ लाख नागरिक सामाजिक सुरक्षाबाट लाभान्वित भएको उल्लेख गर्दै सामाजिक सद्भाव, पूर्वाधार विकास र पुनर्निर्माणमा एमालेको भूमिका निर्णायक रहेको बताए।
२) निरन्तर प्रहारको सामना
स्वदेश–विदेशबाट पार्टीमाथि प्रहार भइरहेको दाबी गर्दै सार्वभौमसत्ता, संविधान निर्माण र विकासको बाटो छान्ने अधिकार नेपालकै हुने बताए। छिमेकीको नाम नलिई उत्तर–दक्षिण कनेक्टिभिटी र सीमा संरक्षणका विषय उठाउँदा असहजता पैदा भएको संकेत गरे।
३) जेन–जीका नाममा राज्यविरुद्ध षड्यन्त्र
२३/२४ भदौको घटनालाई सरकार परिवर्तनभन्दा ठूलो, राज्यको मेरुदण्ड भाँच्ने षड्यन्त्रका रूपमा व्याख्या गरे। यद्यपि, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता जेन–जीका माग जायज भएको स्वीकार गरे।
४) मृतकप्रति पहिलोपटक खुला श्रद्धाञ्जली
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा, सुरक्षाकर्मी र नागरिकप्रति पहिलोपटक खुलेर श्रद्धाञ्जली व्यक्त गरे। आन्दोलनमा घुसपैठ र हिंसाका कारण दुःखद अवस्था सिर्जना भएको उनको भनाइ थियो।
५) राजीनामापछि सम्पदा जलेको आरोप
आफूले राजीनामा दिएपछि राष्ट्रपतिभवनदेखि सिंहदरबारसम्म आगजनी र तोडफोड भएको भन्दै त्यसलाई योजनाबद्ध महाविनाश भने।
६) ‘महाविनाश’ नबिर्सन आह्वान
२४ भदौको घटनालाई महाभारतसँग तुलना गर्दै दोषी पहिचान र सजायको माग गरे। ‘नबिर्सौँ’ भन्दै छानबिनको जोड दिए।
७) प्रतिनिधिसभा विघटन अस्वीकार
अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै तुरुन्त पुनर्स्थापनाको माग गरे।
८) चुनावबाट नभाग्ने उद्घोष
निर्भय र निष्पक्ष वातावरण बने बहुमत ल्याउने क्षमता एमालेसँग रहेको भन्दै चुनावबाट नभाग्ने बताए, तर हाल चुनावी वातावरण नबनेको आरोप लगाए।
९) जेन–जीविरोधी होइन, मैत्री
एमाले जेन–जीविरोधी नभई युवामैत्री पार्टी भएको दाबी गर्दै हिंसा र विध्वंसबाट टाढा रहन युवालाई आग्रह गरे।
१०) मिलेर काम गर्ने प्रस्ताव
राजनीतिक दल, नागरिक समाज र मिडियालाई असहज परिस्थिति समाधानका लागि सहकार्य गर्न आह्वान गरे। संघर्ष देश बनाउने र देश जलाउनेबीचको भएको बताए।
११) महाधिवेशनबारे सांकेतिक सन्देश
‘एघार’लाई एकता र सहकार्यको प्रतीकका रूपमा व्याख्या गर्दै पार्टीभित्र एकता भए महाधिवेशन सफल हुने निष्कर्ष निकाले।
महाधिवेशनको उद्घाटन भाषणमार्फत ओलीले जेन–जी आन्दोलनदेखि संविधान, लोकतन्त्र र आगामी राजनीतिको दिशाबारे स्पष्ट सन्देश दिए पनि पार्टीभित्रको नेतृत्व र नीतिगत विवादबारे भने औपचारिकतामै सीमित रहे।