भक्तपुर
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीस्थित मैदानमा भव्य रूपमा सम्पन्न भएको छ। देशभरबाट आएका नेता, कार्यकर्ता र शुभेच्छुकको उल्लेखनीय सहभागिताबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। तीनदिने महाधिवेशनको उद्घाटन सत्रपछि बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछन्।
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको चाँगुनारायण मन्दिरको काखमा कलात्मक रूपमा निर्माण गरिएको मञ्च उद्घाटन सत्रको मुख्य आकर्षण बन्यो। नेपाल ट्रष्टको स्वामित्वमा रहेको १०८ रोपनी चौरमा भेला भएका सहभागीले विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरबारे चासो देखाउँदै अवलोकन र दर्शनको योजना बनाएको देखिन्थ्यो। विभिन्न जिल्लाबाट आएका सहभागीले मञ्चमा देखिएको मन्दिरको संरचनाले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको प्रतिक्रिया दिए।
सांस्कृतिक झाँकी र नृत्यले बढायो रौनक
उद्घाटन सत्रमा विभिन्न जातजाति, वेशभूषा र संस्कृतिलाई झल्काउने बाजागाजा, झाँकी र नृत्य प्रस्तुत गरिए। धिमे, न्याउली, बाँसुरी, बैण्डबाजासहित नेवार समुदायको हाकुपटासी नृत्य, मगर, लामा समुदायलगायतका सांस्कृतिक प्रस्तुति र झाँक्री नृत्यले कार्यक्रमस्थललाई जीवन्त बनाएको थियो। ९९ वर्षीया ज्येष्ठ नागरिकलाई जङ्कुको भेषमा रथमा राखी गरिएको प्रवेशले विशेष आकर्षण थप्यो।
सडक अवरुद्ध भएन, व्यवस्थापन प्रभावकारी
यसअघि चितवनमा भएको १०औँ महाधिवेशनबाट पाठ सिक्दै एमाले भक्तपुर जिल्ला कमिटीले सुरक्षा निकायसँग समन्वय गरी र्याली र यातायात व्यवस्थापन गरेको जनाएको छ। गठ्ठाघर र जगातीबाट आएको र्याली ६ लेन सडकको सर्भिस ट्र्याक प्रयोग गरी सञ्चालन गरिएकाले अरनिको राजमार्ग दिनभर खुला रह्यो।
जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यक्रमस्थलमा तीन तहको सुरक्षा व्यवस्था मिलाइएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी करिब २ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएका थिए। सिसी क्यामेराबाट निगरानी र बम डिटेक्टर उपकरणबाट प्रारम्भिक जाँच गरिएको थियो।
स्थानीय व्यापार र पर्यटनमा सकारात्मक प्रभाव
उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौ, नेवारी खाजा र अन्य परिकारको बिक्री उल्लेख्य रह्यो। साना व्यापारीले राम्रो व्यापार भएको प्रतिक्रिया दिएका छन्। महाधिवेशनमा सहभागी धेरै प्रतिनिधि र कार्यकर्ता भक्तपुर दरबार स्क्वायर, ५५ झ्याले दरबार, पाँचतले मन्दिर, मध्यपुरथिमि र चाँगुनारायण क्षेत्रको अवलोकनमा निस्कँदा आन्तरिक पर्यटन चलायमान बनेको स्थानीयको भनाइ छ। होटल र रेस्टुरेन्टमा पनि राम्रो चहलपहल देखियो।
सहभागिता र प्रविधि व्यवस्थापन
महाधिवेशनमा २ हजार २६२ प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ। ठूलो क्षेत्रफलमा सहभागीले वक्ताको सम्बोधन सहजै देख्न र सुन्न पाउने गरी ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन र ११५ उच्च क्षमताका साउन्ड सिस्टम जडान गरिएको थियो।
सरसफाइ र समापन तयारी
उद्घाटन सत्रपछि कार्यक्रमस्थलको सरसफाइ शनिबार साँझदेखि सुरु गरिएको एमालेले जनाएको छ। अस्थायी संरचना हटाउने, फोहोर व्यवस्थापन गर्ने र मञ्च भृकुटीमण्डप सार्ने काम रातिसम्म सम्पन्न गर्ने तयारी रहेको आयोजकले जानकारी दिएका छन्।