काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इराकमा सञ्चालन गर्दै आएको २२ वर्षे राजनीतिक मिसन औपचारिक रूपमा अन्त्य गर्ने घोषणा गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इराकको राजधानी बग्दादको अनुरोधअनुसार इराकका लागि संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) आफ्नो कार्यकाल समाप्त गरी बन्द हुने जानकारी दिएका हुन्।
सन् २००३ मा भएको आक्रमण र त्यसपछिको सङ्क्रमणकालमा इराकलाई सहयोग गर्दै आएको युएनएएमआईले २२ वर्षपछि आफ्नो अभियान टुंग्याउन लागेको हो। मिसन समापन समारोहमा महासचिव गुटेरेसले इराकी जनतासँग काँधमा काँध मिलाएर काम गर्न पाएकोमा आभार व्यक्त गरे। उनले मिसन अन्त्य भए पनि शान्ति, दिगो विकास र मानव अधिकारको क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ इराकका जनतासँगै रहने स्पष्ट पारे।
महासचिव गुटेरेसले इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको संयुक्त पत्रकार सम्मेलनमा इराक अब सामान्य र स्थिर देशका रूपमा अगाडि बढिरहेको सन्देश विश्वले बुझ्नुपर्ने बताए। युएनएएमआईको अन्त्यसँगै संयुक्त राष्ट्रसङ्घ र इराकबीचको सम्बन्ध पनि नयाँ चरणमा प्रवेश गर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री सुडानीले युएनएएमआईको सहयोग अन्त्यलाई ‘सहयोगको नयाँ अध्याय’ को सुरुवातको रूपमा व्याख्या गरे। उनले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्य इराकको आवश्यकताअनुसार निर्णायक र प्रभावकारी रहेको उल्लेख गर्दै पूर्ण आत्मनिर्भरताको चरणमा नपुग्दासम्म सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
युएनएएमआईको स्थापना सन् २००३ को अगस्टमा इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावमार्फत गरिएको थियो। यस मिसनले राजनीतिक संवाद र राष्ट्रिय मेलमिलापमा सल्लाह दिनुका साथै निर्वाचन प्रक्रिया र सुरक्षा क्षेत्र सुधारमा महत्वपूर्ण भूमिका खेलेको थियो।
उल्लेखनीय छ, सन् २००३ को अगस्ट १९ मा बग्दादस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको ट्रक बम विस्फोटमा इराकका लागि संयुक्त राष्ट्रसङ्घका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको ज्यान गएको थियो।