काठमाडौं ।
दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले उपाधि जित्दै नेपालमा पहिलो पटक आयोजित पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सम्पन्न भएको छ।
राष्ट्रिय सहकारी महासंघ, हरिहरभवनको सभाहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त आयोजनामा भएको हो। प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका सन्देश स्याङ्बोले उपाधि जित्दै नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय, लगनखेलका निमेश महतो थारू दोस्रो स्थानमा रहँदै नगद ६ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे भने आदर्श सेकेण्डरी स्कुलका अजय बर्देवा तेस्रो बन्दै नगद ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारे।
यसैगरी सञ्जीवनी उच्च माध्यमिक विद्यालय, धुलिखेलका सहदेव के.सी. चौथो, आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका अजय नेपाल पाँचौं, पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका दिपेश उपाध्याय छैटौं तथा ल्याबोटरी स्कूल, किर्तिपुरका अमन थारू सातौं स्थानमा रहे।
पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका संयोग के.सी., सुजित तामाङ र सोफिक तामाङ क्रमशः आठौँ, नवौँ र दशौँ स्थानमा रहे।
महिलातर्फ ल्याबोटरी स्कूल, किर्तिपुरकी ऋतिका घिमिरे प्रथम बन्दै नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। आरोही सुवेदी दोस्रो बन्दै नगद ३ हजार रुपैयाँ प्राप्त गर्दा पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरकी कोपिला तामाङ तेस्रो भइन् र नगद २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कृत गरे। उनले प्रतियोगिताको प्रशंसा गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरे।
कार्यक्रममा मेयर महर्जनले ललितपुर महानगरपालिकाले साना–ठूला योजनाहरू क्रमिक रूपमा सम्पन्न गर्दै अघि बढिरहेको उल्लेख गर्दै बुद्धिचाल खेलबाट धेरै कुरा अनुशरण गर्न सकिने बताए। साथै, पुरातात्विक पोखरी पुनःनिर्माणलगायतका कार्यबाट महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जानकारी गराए।
कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटको समेत उपस्थिति थियो। प्रतियोगितामा ल्याबोटरी स्कूल (किर्तिपुर), नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय (लगनखेल), सञ्जीवनी उच्च माध्यमिक विद्यालय (धुलिखेल), पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय (तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) तथा अपाङ्ग सेवा संघ (बुङ्मती) का गरी करिब ५० जना दृष्टिविहिन खेलाडी सहभागी थिए।
नेपाल त्रिवासा संस्थाकी संस्थापक रमिला पोखरेल र पभिलियन चेस एकेडेमीका संस्थापक सुशील चौधरीले प्रतियोगिताको दोस्रो संस्करण छिट्टै आयोजना गरिने जानकारी दिएका छन्।