चितवन
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते (डिसेम्बर १७) कतार पठाइने भएको छ।
प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा कार्यरत रुद्रकली र खगेन्द्र प्रसादलाई कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राखिनेछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. हरिभद्र आचार्यका अनुसार भैरहवा (लुम्बिनी) अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने तयारी छ। जहाजको समय र बाटोको अवस्थाअनुसार सौराहाबाट अघिल्लो दिन हात्ती लगिनेछ।
रुद्रकली सात वर्षीया र खगेन्द्र प्रसाद छ वर्षीया छावा हुन्। रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीका सन्तान हुन्। दुवैको बाबु जङ्गली भाले हात्ती ‘रोनाल्डो’ रहेको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिए।
हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्तीहरू जङ्गली भाले हात्ती रोनाेल्डो, ध्रुवे र गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्छन्। सरकारले हात्ती उपहार दिने निर्णय गरेपछि आवश्यक सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाले हात्तीको नापअनुसार खोर निर्माण गरिसकेको छ। खोरसहित ट्रकमा राखी सौराहाबाट लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइने र त्यहाँबाट कार्गो विमानमा कतार लगिनेछ। हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा दुई जना माउते पनि कतार जानेछन्। उनीहरूले त्यहाँ व्यवस्थापन मिलाएर फर्कनेछन्।
यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एकसिङ्गे गैँडा, हात्ती लगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ। दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रियस्तरमा चिनाउन वन्यजन्तु उपहार दिने प्रचलन रहँदै आएको डा. आचार्यले बताए। उनका अनुसार यो पहिलो पटक नेपालले हात्ती उपहारस्वरूप अन्य देशमा पठाउन लागेको हो।
वि.सं. २०४४ मा भारतबाट १६, म्यानमारबाट दुई र थाइल्यान्डबाट दुई गरी २० हात्तीबाट स्थापना भएको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ हात्ती जन्माइसकेको छ। तीमध्ये ६१ लाई तालिम दिइएको र छ हात्तीको मृत्यु भएको केन्द्रले जनाएको छ।
सन् १९८५ यता नेपालले विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको वि.सं. २०७५ मा भएको कतार भ्रमणका क्रममा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। सोही अनुरूप कतार सरकारको कूटनीतिक मागपछि प्रक्रिया अघि बढाइएको हो।