भोजपुर ।
भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि उनीहरूको आर्थिक अवस्था सुदृढ बन्दै गएको हो।
सडक पहुँच विस्तार भएपछि यसअघि स्थानीय बजारमै सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको छ। विगतमा यातायात सुविधाको अभावमा स्थानीय बजारमै निर्भर हुनुपरेको भए पनि अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो।
२२ रोपनी क्षेत्रफलमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आउनुभएका राईले वार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ। “अहिले सुन्तलाको मुख्य सिजन हो, गाउँभरि सुन्तला बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “हरेक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु।”
यस क्षेत्रमा करिब १२० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न सकिने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको किसानको भनाइ छ। सडक सञ्जाल विस्तारसँगै यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विर्तामोड, विराटनगर, काठमाडौँलगायतका प्रमुख शहर र बजारमा पुग्ने गरेको छ।
एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको छ। सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो। उहाँका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरी आवश्यक सहयोग गर्दै आएको छ।
कृषि पकेट कार्यक्रमअन्तर्गत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरेको थियो।
भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गरेको छ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा छ हजार २९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। चालु वर्षको उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलनको काम जारी रहेको केन्द्रले जनाएको छ।