काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले स्वास्थ्य क्षेत्रको समग्र सुधार र जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा विशेष जोड दिनुपर्ने बताएकी छन्।
देशकै पहिलो छात्रा विद्यालय कन्या मन्दिर माध्यमिक विद्यालयको ७९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले महिलालाई शिक्षाबाट वञ्चित गरिँदा घरपरिवार, समाज र राष्ट्र नै पछि पर्ने उल्लेख गरिन्। मुलुकको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा महिलाको रहेकाले महिला सशक्तीकरण शिक्षामार्फत् मात्र सम्भव हुने उनको भनाइ थियो।
राणाकालीन समयमा स्थापना भएको कन्या मन्दिर माविले महिला साक्षरता र सशक्तीकरणमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै उनले भनिन्, “विसं २००३ मा स्थापना भई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयबाट चिकित्सक, इञ्जिनीयर, राष्ट्रसेवक कर्मचारी, प्राध्यापक, उद्यमी र व्यवसायी उत्पादन भएका छन्। आफू पनि यही विद्यालयकी पूर्वविद्यार्थी भएकाले यसप्रति गर्व गर्दछु।” उनले विद्यार्थीलाई राम्रोसँग पढेर देश र जनताप्रति समर्पित हुन आग्रह गरिन्।
सो अवसरमा मन्त्री शर्माले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउँदै स्रोतसाधनको व्यवस्थापनका कारण विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको बताए।
प्रधानाध्यापक घनश्याम न्यौपानेले पछिल्ला वर्षमा खस्कँदो शैक्षिक गुणस्तरप्रति चिन्ता व्यक्त भइरहेका बेला व्यवस्थापन समिति, अभिभावक र शिक्षक–कर्मचारीको संयुक्त प्रयासबाट विद्यालयलाई पुनः देशकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित गरिएको बताए। उनका अनुसार हाल विद्यालयमा एक हजार २०० छात्रा अध्ययनरत छन् भने पछिल्लो एसइई परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भएका छन्, जसमा एक जनाले चार जिपिए हासिल गरेकी छन्।
समारोहमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारी र एसइईलगायत विभिन्न परीक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।