काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय भएको छ। बन्दसत्रमा पारित प्रस्तावअनुसार, कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रका प्रतिनिधिको समावेशी व्यवस्थापन हुनेछ।
नयाँ संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन्। यसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ। वरिष्ठ उपाध्यक्षको पद अब नरहने भएको छ।
प्रदेशगत प्रतिनिधित्वअनुसार उपत्यकासहित आठ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच खुला, तीन महिला र एक युवा रहने एमाले महाधिवेशन प्रचार कमिटीका संयोजक अर्यालले जानकारी दिइन्।
खुला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। यसमा ७१ खुला, ५२ महिला र २ युवा सदस्य रहने व्यवस्था गरिएको छ।
समावेशी संरचनाअनुसार विभिन्न समुदायबाट सदस्य छनोट यसरी हुनेछ:
-
आदिवासी–जनजाति २५ (खुला १५, महिला ८, युवा २)
-
मधेसी १९ (खुला ११, महिला ६, युवा २)
-
दलित १२ (खुला ७, महिला ४, युवा १)
-
थारु ८ (खुला ५, महिला ३)
-
मुस्लिम ५ (खुला ४, महिला १)
-
प्रवास २ (भारत १, अन्य देश १)
-
श्रमिक ३ (खुला २, महिला १)
-
अपाङ्गता भएका व्यक्ति १
-
पिछडिएको क्षेत्र २ (खुला १, महिला १)
-
सम्पर्क समन्वय कमिटी २ (खुला १, महिला १)
एमालेको नयाँ केन्द्रीय कमिटीले आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।