पर्सा, मंसिर २९ ।
चितवन–पर्सा कम्प्लेक्समा पुसको दोस्रो सातादेखि बाघ गणना कार्य सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा यस वर्षको बाघ गणना गर्न लागिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण तथा सूचना अधिकृत सन्तोष कुमार भगतका अनुसार गणनामा संलग्न प्राविधिक तथा गणकहरूका लागि पुस १ गतेदेखि चितवनमा तालिम सञ्चालन गरिनेछ । तालिम सम्पन्न भएपछि गणकहरू निकुञ्जका विभिन्न स्थानमा क्यामेरा ट्र्याप जडान गरी बाघ गणनाको कार्यमा खटिनेछन् ।
दुवै निकुञ्जलाई विभिन्न ब्लकमा विभाजन गरी चरणबद्ध रूपमा गणना गरिने भगतले जानकारी दिए । कम्प्लेक्सको पूर्वी भाग पर्सा निकुञ्जबाट वा पश्चिमी भाग नवलपरासीबाट गणना सुरु गर्ने भन्ने विषयमा भने हालसम्म निर्णय भइसकेको छैन । दुवै निकुञ्जमा गरी करिब डेढ महिनासम्म गणना कार्य सञ्चालन हुने अनुमान गरिएको छ ।
प्रत्येक चार वर्षमा बाघको उपस्थिति रहेका राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा यसरी बाघ गणना गरिँदै आएको छ । संरक्षणका प्रभावकारी प्रयासका कारण पर्सा राष्ट्रिय निकुञ्जमा पछिल्लो १२ वर्षमा बाघको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
सन् २००९/१० मा गरिएको गणनामा निकुञ्जमा केवल चार वयस्क बाघ थिए । सन् २०१३ को सर्वेक्षणमा सात, सन् २०१८ मा १८ र सन् २०२२ मा ४१ वयस्क बाघ फेला परेका थिए ।
यसपटकको गणनामा बाघको संख्या अझै बढ्ने पूर्वानुमान गरिएको भगतले बताए । “निकुञ्जका विभिन्न क्षेत्रमा बाघको उपस्थिती देखिएकाले संख्या बढेकै हुने विश्वास छ,” उनले भने ।
पछिल्लो समय निकुञ्जसँग जोडिएका बारा र रौतहट जिल्लाका सामुदायिक वनहरूमा समेत बाघ देखिन थालेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लामा फैलिएको करिब ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ ।