तानसेन
पछिल्लो समय महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्ने चाहनासँगै विभिन्न सीप तथा उद्यममा आकर्षित हुँदै गएका छन्। घरमै बसेर स–साना काम गर्नेदेखि ठूला उद्योग–कलकारखाना सञ्चालन गर्नेसम्मका सीप सिक्दै महिलाहरू आयआर्जनमा जोडिन थालेका छन्।
यससँगै चुलोचौकोमा सीमित रहन बाध्य महिलाहरू घर, परिवार, समाज र राष्ट्रको नेतृत्वमा सबल र सक्षम बन्दै गएका छन्। बजारको आवश्यकता, माग र उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै सीप विकासमा लागेका महिलाहरूले आफ्नै घरआँगनबाटै लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका उदाहरणहरू बढ्दै गएका छन्।
महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ तानसेन नगरपालिकाभित्रका महिलाहरूलाई लक्षित गर्दै असनटोल विकास समितिले नेवारी कला, संस्कृति तथा परम्परामा आधारित रोटी बनाउने सीपमूलक तालिम सञ्चालन गरेको छ। महिलाहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीन दिने तालिममा २० महिलाले विभिन्न प्रकारका रोटी बनाउने सीप सिकेका छन्।
तालिममा सहभागी महिलाहरूले लोपोन्मुख अवस्थामा पुगेका नेवारी समुदायका परम्परागत रोटीका परिकारहरू लाखामरी, पाते, सेगुली, सिन्कामरी, झिनिया, फिनी तथा सेलरोटी बनाउने व्यावहारिक सीप हासिल गरेका छन्।
आधुनिक जीवनशैली, फास्टफुड संस्कृतिको प्रभाव र पुस्तान्तरणको अभावका कारण नेवारी समुदायमा प्रचलित पाते र लाखामरीजस्ता परिकारहरू हराउँदै जान थालेपछि तिनको संरक्षण र प्रवर्द्धनका लागि तालिम सञ्चालन गरिएको संस्थाकी अध्यक्ष अनुराधा वज्राचार्यले बताइन्। नेवारी कला र संस्कृति जोगाउँदै एक समुदायबाट अर्को समुदायमा मौलिक परम्पराको हस्तान्तरण गर्नुका साथै महिलालाई आर्थिक गतिविधिमा जोड्ने संस्थाको उद्देश्य रहेको उनले स्पष्ट पारिन्।
तानसेन सांस्कृतिक सहर भएकाले यहाँका विभिन्न जातजातिका परम्परागत सीपलाई आधुनिक बजारसँग जोडेर महिलालाई राम्रो आम्दानीको अवसर सिर्जना गर्न सकिने तानसेन नगरपालिका–२ का वडाध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले बताए। यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिइने उनले उल्लेख गरे।
रोटी बनाउने सीप हस्तान्तरण तालिममा सहभागी महिलालाई परम्परागत रोटी बनाउने विधि, कच्चा पदार्थको छनोट, सरसफाइ, गुणस्तर तथा बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको प्रशिक्षक अनुजा वज्राचार्यले जानकारी दिइन्। महिलालाई आफैंले रोटी बनाएर अभ्यास गराइएको र स्वाद तथा गुणस्तर कायम गर्न विशेष ध्यान दिइएको संस्थाकी सचिव सुनिताकुमारी प्रधानले बताइन्। तालिममा अनुजा वज्राचार्य, कृष्णकली वज्राचार्य, यशोधरा वज्राचार्य र उषा प्रधानले प्रशिक्षण दिएका थिए।
घरमै बसेर सीप सिक्दै आत्मनिर्भर बन्ने र परम्परागत ज्ञान तथा संस्कृति जोगाउन सकिने उद्देश्यले सीप हस्तान्तरण तालिम सञ्चालन गरिएको संस्थापक अध्यक्ष शकुन्तला वज्राचार्यले बताइन्। तालिमबाट घरमै परम्परागत रोटी बनाएर बिक्री गर्न सकिने, विवाह, व्रतबन्ध, भोजभतेर तथा होटल–समारोहमा रोटी आपूर्ति गरी घरायसी खर्च धान्न सक्ने गरी व्यावहारिक सीप सिकेको तालिममा सहभागी निर्मला श्रेष्ठ र गंगा नेपालले बताए।
तानसेन नगरपालिका–२ को आर्थिक सहयोगमा असनटोल विकास समितिले तीन दिने रोटी बनाउने तालिम सञ्चालन गरेको हो।